सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई देशको एक नम्बर पार्टी बनाउने दाबी गरेका छन् ।
शनिबार माओवादी प्रदेश कमिटी सम्पर्क समितिद्धारा ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले देश र संविधानको रक्षाका लागि माओवादी केन्द्र नै पहिलो पार्टी बनेर देशको नेतृत्व गर्नुपर्ने धारणा राखे ।
उनले भने, ‘देश दुर्घटनामा जाने स्थिती छ, माओवादी केन्द्रबाहेक अरुको विकल्प नै छैन, हामी फेरी एक नम्बरको पार्टी हुन्छौं ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्पर्क कमिटिहरुमा सम्पर्क बढाउनुपर्ने धारणा राखे । उनले विगतमा भएको प्रतिनिधिसभा विघटन पश्चात् सरकार गठनसम्ममा माओवादी पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताए ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण नेकपा विभाजन भएको धारणा उनको छ । आगामी दिनमा माओवादी केन्द्र देशको पहिलो पार्टी बन्दै सम्पूर्ण क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु बीच एकता हुने पनि अध्यक्ष प्रचण्डले बताए ।