काठमाडाैँ। विराटनगरमा सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका ८२ वर्षीय वृद्धलाई अस्पताल लैजाने क्रममा चालकले सडकमा छाडेर फरार भएका छन्।
सडकमा छाडिएका ती वृद्धको पछि मृत्यु भएको अवस्थामा शव भेटिएको हो। आइतबार बिहान विराटनगर महानगरपालिका–९ स्थित ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले विराटनगर–८ का ८२ वर्षीय तीर्थराज बस्नेतलाई ठक्कर दिएको थियो। दुर्घटनापछि स्थानीयले गम्भीर घाइते बस्नेतलाई उद्धार गरी उपचारका लागि सोही सिटी सफारीमा राखेर कोशी अस्पताल पठाएका थिए। तर, चालकले अस्पताल नपुर्याई विराटनगर–७ स्थित मालपोत कार्यालयनजिकै सडकमा बस्नेतलाई छाडेर सफारीसहित फरार भएको प्रहरीले जनाएको छ।
बिहान सिमसिम पानी परिरहेका बेला मालपोत कार्यालयनजिकै बस्नेत मृत अवस्थामा भेटिएका थिए। सुरुमा उनको पहिचान खुलेको थिएन। पछि पहिचान खुलेसँगै उनलाई दुर्घटनामा घाइते बनाएर सडकमा छाडिएको तथ्य सार्वजनिक भएको हो। घटनापछि प्रहरीले फरार चालकको खोजी तीव्र बनाएको थियो। खोजीका क्रममा आइतबार बिहान करिब ८ः३० बजे चालक ५५ वर्षीय अर्जुन भगतलाई मोरङको कटहरी गाउँपालिका–२ स्थित आफ्नै घरबाट पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार भगतलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।