नवराज विकको हत्याका आरोपितलाई संरक्षण गरेको भन्दै जातीय विभेदविरुद्ध राष्ट्रिय अलायन्सले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गरेको छ।
बिहीबार काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै अलायन्सले अपराधीको पक्षमा बोलेकामा मन्त्री शर्माले सार्वजनिक रुपमा माफी माग्नुपर्ने, मृतकहरुलाई शहीद घोषण गर्नुपर्ने, मृतकका परिवारलाई रोजगारी र गाँसबाँसको व्यवस्थासहित ३ बुँदे मागसमेत राखेको छ।
नवराज विकसहित ६ जना दलित युवाहरुलाई गाउँलेहरुले निर्मम हत्या गर्दा पनि मन्त्री शर्माले दोषीलाई कारबाही गर्नुको साटो जोगाएको आरोप अलायन्सको छ। पत्रकार सम्मेलनमा बोल्दै अलायन्सका संयोजक डा. मित्र परियारले नेताहरु सत्ता, पद र व्यक्तिगत स्वार्थमा लिप्त भएको आरोप लगाए। ‘नेताहरुको व्यक्तिगत स्वार्थले गर्दा आज निर्दोष नवराजलगायत ६ जना युवाका परिवारले न्याय पाउन सकेनन्।’ डा. परियारले भने।
डा. परियार सर्वोच्च अदालतले न्याय दिनेमा आफू आशावादी भएको बताए। ‘जसलाई समाजले अपराधीलाई संरक्षण दिएको आरोप लगाइरहेको छ, उसैलाई अर्थ मन्त्री जस्तो जिम्मेवार पदमा नियुक्त गर्दा दलितको अपमान गरेको महसुस भएको छ।’ डा. परियारले थपे।
उनले राज्यसत्ताले आफूहरुलाई बन्दुक बोक्न र बिद्रोह गर्न बाध्य बनाइरहेको बताए। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा कुनै समय प्रजातन्त्रका लागि लडेको नेता भएकाले उनले दलितको कुरा सन्ने विश्वास परियारले व्यक्त गरे।
अलायन्सका अर्का संयोजक चन्द्रेश्वर दासले दलित समुदाय मानसिको व्यक्तिगत दुस्मनीले नभएर धर्मको कारण तिरस्कृत भएको जिकिर गरे।
पश्चिम रुकुममा गाउँलेको आक्रमणबाट मारिएका प्रत्येक मृतकका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउन गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ।
मृतक नवराज विक ‘तथाकथित उपल्लो जात’ की आफ्नी प्रेमीकालाई बिहे गरेर लैजाने गरी आफ्ना साथीहरु लिएर गत वर्ष जेठ १० गते जाजरकोटबाट रुकुम पुगेका थिए। नवराज विकसहित उनका ६ जना साथीहरुलाई गाउँलेको सामूहिक आक्रमणबाट मारिएका थिए।