काठमाडौं - नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदल शुक्रबार भएको भनिएको सहमतिलाई अन्तिम रुप दिन असफल भएको छ ।
आजको बैठकले सहमतिलाई अन्तिम रुप दिने भनिएको थियो । यद्यपि भोलिसम्म सहमतिमा पुग्ने नेताहरुले बताएका छन् ।
सिंहदरबारमा शनिवार बसेको कार्यदल बैठक पछि एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले भोलि सकारात्मक सन्देश प्रवाह गर्ने जानकारी दिए ।
‘हामी सहमतिका लागि अन्तिम अन्तिम अवस्थामा आइपुगेका छौ, लगभग समस्यालाई समाधान खोज्ने विन्दुमा आएका छौं । आजको दिनमै सुखद समाचार घोषणा गर्न सकेका छैनौं’ शनिवारको बैठकपछि विष्टले भने, ‘भोलिको दिन एकताको सन्देश सुन्न आतुर कार्यकर्तालाई भोलि सकारात्मक सन्देश दिन्छौ । औपचारिक दिने काम मात्र बाँकी छ ।’
नेता विष्टले भोलिको दिन एकताको निष्कर्ष सुन्ने दिन हुने दाबी गरे । उनले कार्यदलभित्र लगभग सबै कुरा मिलेको तर त्यसलाई आज औपचारिकता दिन नसकिएको बताए ।
गत जेठ २ गते गठन गरिएको कार्यदल बीचमा निष्क्रिय भएको थियो । असार २० गते एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपाल पक्षका नेता तथा उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको भोलिपल्टदेखि नै कार्यदल पुनः सक्रिय भएको छ । कार्यदलको बैठक सोमबारदेखि लगातार बस्दै आएको छ ।
कार्यदलमा एमाले संस्थापन पक्षबाट संयोजक सुवास नेम्वाङसहित, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट नेताहरु संयोजक रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।