काठमाडौं । प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ।
संघीय संसद् सचिवालयले बैठकका लागि तीनवटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। बैठकको सुरुवातमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको विवरण सभामुखले सदनसमक्ष पढेर सुनाउने कार्यक्रम रहेको छ। त्यसपछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
त्यस्तै, प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र (बालेन) शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफलपछि मन्त्री गौतमले विधेयक पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्नेछिन्। यससँगै सोमबारको बैठकमा विधेयकसम्बन्धी प्रक्रिया अघि बढाइनेछ।