अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई ल्याउने तयारी थालेको छ। न्यू साउथ वेल्स राज्यका अर्थमन्त्री डोमिनिक पेरोटेटले न्यू साउथ वेल्स राज्यका सुरक्षा निकाय र स्वास्थ्य विभागबीच अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने प्रारम्भिक योजना सुरु गरिएको बताए। यद्यपि, यो योजना संघीय सरकारबाट पारित हुन बाँकी छ।
न्यु साउथ वेल्स राज्यको तयारीअनुसार आगामी ६ देखि ८ हप्ताभित्रमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुले प्रवेश पाउनेछन्। अन्तर्राष्ट्रिय विद्यार्थीहरु अष्ट्रेलियन अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै उनले भने, ‘हामी उनीहरुलाई ल्याउन तयार छौं र यो न्यू साउथ वेल्स र सिंगो अष्ट्रेलियाको अर्थतन्त्रका लागि महत्वपूर्ण छ।’ उनका अनुसार ल्याइएका विद्यार्थीहरु छात्र आवसमा क्वारेन्टिनमा बस्नेछन् भने यसको सम्पूर्ण खर्च युनिभर्सिटीहरुले व्यहोर्ने छन्।
पेरोटेटका अनुसार सबैभन्दा पहिला विद्यार्थीहरुलाई चार्टर्ड विमानमा ल्याइनेछ। अधिकारीहरुका अनुसार यो योजनाअन्तर्गत दुई हप्ताको अवधिमा करिब २५० जना विद्यार्थीहरु अष्ट्रेलिया आउन पाउने छन्। यदि यो योजना संघीय सरकारबाट पारित भएमा कोरोना महामारीका कारण भएको उडान बन्दका कारण अष्ट्रेलिया आउन नपाएका लाखौं विद्यार्थीहरु आउन पाउनेछन्। २० मार्च २०२० बाट बन्द भएको अष्ट्रेलियाको बोर्डरका कारण भिसा लागेर पनि लाखौं विद्यार्थीहरु आ–आफ्नै देशबाट अनलाइन कक्षाहरु लिइरहेका थिए।
