सोमबार प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन्। तर, नेकपा एमालेकै माधवकुमार नेपाल समूहले प्रतिनिधि सभा बैठकमा सहभागी नहुने निर्णय गरेसँगै प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने सम्भावना न्यून बनेको छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सांसद छन्। संसदको सबभन्दा ठूलो दल एमालेसँग १२१ छ। नेपाली कांग्रेसका ६१ (निलम्बनमा रहेका दुई सांसदबाहेक), नेकपा माओवादी केन्द्रका ४९ र जनता समाजवादी पार्टी (जसपा)का ३२ (निलम्बनमा रहेका दुई सांसद बाहेक) सांसद छन्। राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र एक–एक सांसद छन्।
विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री ओलीलाई संसदको बहुमत अर्थात १३६ मत चाहिन्छ। एमालेकै २२ सांसदले मत नदिएपछि ओलीले एमालेबाट ९९ मत पाउनेछन्। नेपाली कांग्रेस र नेकपा माओवादीले उनलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ।
जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले ओलीलाई मत दिए पनि त्यो पर्याप्त नहुने देखिन्छ। जसपाकै बाबुराम भट्टराई र उपेन्द्र यादवले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्।
जसपाको मत विभाजित भए पनि एमालेको माधव पक्षका सांसदहरु र नेपाली कांग्रेस, माओवादी केन्द्रले विश्वासको विपक्षमा मत दिएमा ओली कामचलाउ प्रधानमन्त्री बन्नेछन्।