सरकारले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउनका लागि ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरेको छ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तगर्तको पोषण शाखाका प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिका र जुकाको औषधि ‘अल्वेण्डाजोल’ एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाउन थालिएको जानकारी दिए।
उक्त कार्यक्रमअन्तर्गत देशभरिका ५२ हजार केन्द्रबाट पाँच वर्ष मुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ६० हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ। ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई खुवाउने गरिएको छ। उनले आज खुवाउन बाँकी भएका बालबालिकालाई भोलि खुवाइने जानकारी दिए।
उनका अनुसार भिटामिन ‘ए’ छ महिनादेखि एक वर्ष उमेरसमूहका बालबालिकलाई आधा क्याप्सुल ‘एक लाख युनिट’ र एक वर्षदेखि पाँच वर्ष मुनिकालाई एक क्याप्सुल ९दुई लाख युनिट० तथा जुकाको औषधि एक वर्षदेखि दुई वर्ष उमेर समूहका लागि आधा ट्याबलेट ‘२०० मिलिग्राम’ र दुई वर्षदेखि पाँच वर्ष मुनिकालाई एक ट्यावलेट ‘४०० मिलीग्राम’ खुवाउने गरिन्छ।
भिटामिन ‘ए’ खुवाउँदा बाल मृत्युदर ३० प्रतिशतले घटेको अध्ययनले देखाएको उनले जानकारी दिए। भिटामिन ‘ए’ कुषोषण, रतन्धोबाट बचाउनका लागि खुवाउने गरिन्छ। सरकारले २०५३ सालबाट भिटामिट ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि खुवाइँदै आएको छ । वर्षमा दुई पटक सरकारले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ ।
यस्तै भिटामिन ‘ए’ र जुकाको औषधिसँगै आज बालभिटा वितरणसमेत गर्न थालिएको छ। बालभिटा छ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई खुवाइने गरिन्छ। विसं २०७२ देखि शुरु गरिएको बालभिटा आठ लाख बालबालिकालाई खुवाउन थालिएको छ। बालभिटा ४६ जिल्लाका बालबालिकालाई दिइने गरिन्छ।