समिट होटल र ओपन स्पेस नेटवर्कको संयुक्त सहकार्यमा ‘समिट वुमन २०२१’ आयोजना भएको छ। समिट होटलमा आयोजना भएको उक्त कार्यक्रममा टिटोफ्रिटो फुड्स ब्रान्डले उपाधि पाएको हो।
यही मार्चमा ३० वर्षमुनि उमेर समुहका महिला उद्यमीलाई विशेष स्थान र उनीहरूको कामलाई सम्मान गर्ने हेतुले ‘समिट वुमन अफ दी इयर २०२१’ प्रतिस्पर्धा आयोजना गरेको हो। प्रतिस्पर्धाका लागि देशभरका १६० वटा ब्रान्डले आवेदन दिएका थिए।
ओपन स्पेस नेटवर्कका संस्थापक फाइजा परवीनका अनुसार छोटो समयमै यो प्रतियोगिताका लागि ६ वटा प्रदेशका १८ सहरबाट ३० भन्दा बढी क्षेत्रका आवेदक थिए।
‘महिला उद्यमीहरूको कामको सम्मान र मान्यता दिनलाई यो प्रतिस्पर्धा गरेका हौं,’ उनले भनिन्।
कार्यक्रममा उत्कृष्ट ५ ब्रान्डलाई सम्मान गरिएको हो। उत्कृष्ट ५ मा जयराज भण्डारीको ‘ट्विङ्कल’, यजश्वी राईको ‘लेकलेकः द ग्रीन वेभ’, आदित्य गोयलको ‘लर्न इन्फिनिटी’, बिनिता पोखरेलको ‘पियोर जोय’ र अरुनिमा श्रेष्ठ र उरुसा श्रेष्ठको ‘टिटोफ्रिटो फुड्स’लाई ट्रफी र प्रमाण–पत्रबाट सम्मानित गरिएको हो।
कार्यक्रम जजको रूपमा होटल एसोसिएसन अफ नेपालकी अध्यक्ष सृजना राणा, नबिल बैंकका सिइओ अनिल केसरी शाह, नेपाल कन्ट्री डाइरेक्टरका रूपमा कोर ओहारा र गोल्डस्टारको मार्केटिङ ब्रान्ड र डिजाइनका निर्देशक विदुषी राणा थिए।
‘समिट वुमन २०२१’ टिटोफ्रिटो फुड्सका सह–संस्थापक अरुणिमा श्रेष्ठ र उरुसा श्रेष्ठले कार्यक्रममा ट्रफी, प्रमाण–पत्र र नगद १ लाख रूपैयाँबाट सम्मानित गरियो।
‘युवा व्यवसायिक महिलाहरुलाई पुरस्कृत गर्ने उद्देश्य भनेको समाजमा भएको सबै अवरोध र यथास्थितिलाई चुनौती दिँदै महिलाहरुलाई सृजनात्मक विचारहरुका साथ नेतृत्व गर्न प्रेरणा दिनु हो,’ ओपन स्पेस नेटबर्ककी प्रबन्ध निर्देशक परवीनले भनिन्।
कार्यक्रममा सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक एवं सिइओ राहुल चौधरीले भने, ‘हामी युवा प्रतिभाशाली महिलाहरूलाई ओपन स्पेस नेटवर्कको साझेदारीमा समिट वुमनको माध्यमबाट प्याल्टफर्म दिन पाउँदा एकदमै खुसी छौँ, र उनीहरूको प्रतिभा र सीप पहिचान गर्न र भविष्यमा विभिन्न तरिकामा उनीहरूको व्यवसायलाई थप सहयोग पुर्याउन हामी उत्साहित छौँ।’
ओपन स्पेस नेटबर्ककी प्रबन्ध निर्देशक परवीनले ओएसएनले सधै महिलालाई आर्थिक अवसरका लागि व्यावसायिक माध्यमको नै विश्वास गर्ने बताइन्।
व्यावसायिक दुनियाँमा युवा महिलाहरुलाई आउनका लागि प्रेरणा दिने लक्ष्यका साथ नाबिल बैंक, एलजी इलेक्ट्रोनिक्स, टर्की एयरलाइन्स लगायतको साझेदारीमा कार्यक्रम आयोजना गरिएको हो।

