नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले पार्टीका सचिवालय सदस्यबाहेकका सांसदहरूको छुट्टै छलफल गरी साझा सुझाव तयार पार्न प्रस्ताव गरेका छन्। नेता शर्माले जनमतको सम्मान र जनप्रतिनिधिको कर्तव्य कसरी पूरा गर्ने भन्ने विषयमा छलफल आवश्यक रहेको धारणा सार्वजनिक गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा शर्माले छलफलका लागि अपिल गर्दै बुधबार बिहान सांसद्हरूको छलफलमा जोड दिएका हुन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा उत्पन्न विवादलाई सैद्धान्तिक कुरा, नेतृत्वको प्रश्न एवं पदीय झगडाका रुपमा आ–आफ्ना बुझाइरहेका शर्माको धारणा छ।
‘जे भए पनि जननिर्वाचित संसद् समेत भंग हुने अवस्थासम्म पुग्नु हामी सबैका लागि दुर्भाग्यपूर्ण अवस्था हो, जनताको आन्दोलन र अदालतको स्वतन्त्र र सुझबुझ पूर्ण निर्णयबाट संसद्को पुनःस्थापना भएको सन्दर्भमा हामी प्रतिनिधिसभाका सांसद्हरूले आफैप्रति उठेका प्रश्नहरूको जवाफ दिन आवश्यक भएको छ,’ शर्माले भनेका छन्।
जनमतको सम्मान र आफ्नो जनप्रतिनिधिको कर्तव्य समेत कसरी पूरा गर्ने भन्नेबारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक भएको सन्दर्भमा सचिवालय सदस्यहरू बाहेकका सांसदहरूले एउटा छलफल गरि आवश्यक निष्कर्षका लागि पहल गर्ने आवश्यकता महसुस भएको शर्माको भनाइ छ।
‘पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्नेबारे स्वतन्त्र रुपले छलफल गर्न माननीयहरूमा हार्दिक अपिल गर्दछु, यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर हाम्रो साझा सुझाव तयार गर्न अर्थमा भएको समेत जानकारी गराउँछु, कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिने छ,’ शर्माले भनेका छन्।