काठमाडौं । युवा अभियन्ता तथा ग्लोबल यूथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल उज्यालो नेपाल पार्टीको महासचिव बनेका छन्।
पार्टी सचिवालयको आइतबार बसेको पूर्ण बैठकले अर्याललाई महासचिवको जिम्मेवारी दिने निर्णय गरेको हो। पार्टी अध्यक्ष कुलमान घिसिङले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्याललाई औपचारिक रूपमा पार्टीमा प्रवेश गराउँदै महासचिवको जिम्मेवारी दिएका हुन्। अर्यालसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रेउले, कालीप्रसाद छटोट, विष्णु पराजुली र दुर्गा अर्याल पनि केन्द्रीय सदस्यका रूपमा पार्टीमा जोडिएका छन्। कार्यक्रममा अध्यक्ष घिसिङले नयाँ पुस्ताका युवाको अनुभव, क्षमता र योगदानले पार्टीलाई थप बलियो बनाउने बताए। देश निर्माणमा सक्रिय र जागरुक युवासँग सहकार्य गर्दै अघि बढ्ने पार्टीको योजना रहेको उनको भनाइ थियो।
घिसिङले देशका विभिन्न क्षेत्रमा देखिएको ‘अँध्यारो’ अन्त्य गरी विकास र सुशासनतर्फ अघि बढ्न पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने दाबी गरे। देश विकासका लागि इच्छाशक्ति, अनुभव र विज्ञताको संयोजन आवश्यक रहेको बताउँदै उनले उज्यालो नेपाल पार्टीलाई त्यसको विकल्पका रूपमा प्रस्तुत गरे। उनले विद्युत् खपत बढाउने नीतिको सट्टा बिजुलीमा भ्याट तथा कर लगाउने, विद्युतीय सवारीसाधनमा कर बढाउने र ग्यासका लागि लाइन बस्नुपर्ने अवस्थाजस्ता नीतिले देश विकास सम्भव नहुने तर्क गरे। पार्टीले कुनै निश्चित वादभन्दा जनतालाई प्रत्यक्ष सेवा र परिणाम दिने विषयलाई प्राथमिकता दिएको उनको भनाइ थियो। नवनियुक्त महासचिव अर्यालले पार्टीमा विभिन्न क्षेत्रका विज्ञसँगै अनुभवी युवाहरू पनि जोडिएकाले देश विकासका लागि उज्यालो नेपाल पार्टी प्रभावकारी विकल्प बन्न सक्ने दाबी गरे।
को हुन् दिवाकर अर्याल ?
धादिङको ज्वालामुखी गाउँपालिका–४, ढोलामा जन्मिएका अर्याल लामो समयदेखि युवा अभियान र सामाजिक क्षेत्रमा सक्रिय छन्। प्लस–टु अध्ययनकै क्रममा युवालाई संगठित गर्ने उद्देश्यले उनले ‘यूथ पार्लियामेन्ट’को अवधारणा अघि सारेका थिए। २०६८ सालको अन्त्यतिर उनले साथीहरूसँग मिलेर यूथ पार्लियामेन्ट नेपाल दर्ता गरेका थिए। पहिलो संविधानसभाले संविधान निर्माण गर्न नसकेपछि अर्यालको नेतृत्वमा ३०१ सदस्यीय ‘नमुना युवा संविधानसभा’ गठन गरिएको थियो। उक्त संस्थाले विभिन्न विषयमा छलफल गरी संविधानको नमुना तयार गरेको थियो। सो नमुना तत्कालीन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई समेत बुझाइएको थियो।
नेपालमा युवा अभियानलाई संस्थागत गर्ने प्रयासपछि अर्यालले आफ्नो अभियानलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गरे। उनको नेतृत्वमा ग्लोबल यूथ पार्लियामेन्ट स्थापना भएको हो। २०२४ मा प्रकाशित विवरणअनुसार ग्लोबल यूथ पार्लियामेन्टमा त्यतिबेला ८६ देशका २१ सयभन्दा बढी युवा आबद्ध थिए। संस्थाका विभिन्न कार्यक्रममार्फत ८० भन्दा बढी देशका एक हजारभन्दा बढी युवाले नेपाल भ्रमण गरिसकेको विवरणमा उल्लेख छ। युवा नेतृत्व विकाससँगै कला, संस्कृति आदानप्रदान र पर्यटन प्रवर्द्धनलाई समेत संस्थाले आफ्नो कार्यक्षेत्र बनाउँदै आएको छ। नेपालसहित विभिन्न देशमा ग्लोबल यूथ पार्लियामेन्टका कार्यक्रम सञ्चालन भएका छन्। अर्यालको युवा क्षेत्रमा योगदानलाई सरकारले समेत सम्मान गरेको छ। उनलाई समाजसेवा रत्न–२०७९ बाट विभूषित गरिएको थियो।
त्यस्तै, युवा तथा खेलकुद मन्त्रालयले २०८० सालमा युवा सशक्तीकरण तथा नेतृत्व विकासमा योगदान पुर्याएको भन्दै राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार प्रदान गरेको थियो। राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका अर्यालले युवा अभियानसँगै प्रविधि र सामाजिक उद्यमका क्षेत्रमा समेत काम गरेका छन्। अब उज्यालो नेपाल पार्टीको महासचिवको जिम्मेवारी पाएसँगै उनको भूमिका सामाजिक अभियानबाट सक्रिय दलीय राजनीतितर्फ मोडिएको छ।युवा नेतृत्व, सुशासन र प्रणालीगत सुधारका मुद्दामा लामो समयदेखि काम गर्दै आएका अर्यालका लागि ती एजेन्डालाई अब पार्टी संगठन, नीति निर्माण र निर्वाचन राजनीतिमा कसरी अघि बढाउने भन्ने विषय नयाँ जिम्मेवारीको मुख्य चुनौती बन्ने देखिन्छ।