काठमाडौं ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी उपत्यका विशेष प्रदेश समितिले राष्ट्रिय बाल दिवस र हरितालिका तीजको अवसरमा बालबालिका, विद्यार्थी, युवा तथा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेको छ।
समितिका इन्चार्ज निरोज श्रेष्ठले बाढी, पहिरो लगायतका प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत र पुनर्स्थापनालाई प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। विपद्का कारण विस्थापित भएका नागरिकलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्दै आवश्यक स्वास्थ्य सेवा, राहत तथा पुनर्निर्माणको कामलाई तीव्रता दिन उनले आग्रह गरेका छन्।समितिले यस वर्षको तीज र बाल दिवसलाई मनोरञ्जन तथा उत्सवमा मात्र सीमित नगरी मानवीय संवेदना, सामाजिक जिम्मेवारी, आपसी सहयोग र एकताको भावना बलियो बनाउने अवसरका रूपमा मनाउनुपर्ने जनाएको छ।
बालबालिकाको अधिकार संरक्षण, गुणस्तरीय शिक्षा, सुरक्षा र सम्मानको सुनिश्चितताका लागि निरन्तर आवाज उठाउन पनि समितिले आह्वान गरेको छ। बालबालिकामाथि हुने शोषण, विभेद र अन्याय अन्त्य गर्दै समान र न्यायपूर्ण समाज निर्माणका लागि संगठित प्रयास आवश्यक रहेको समितिको भनाइ छ।
त्यस्तै, नेपाली महिलाको सम्मान, समान अधिकार, नेतृत्वमा सहभागिता र मुक्तिका लागि भइरहेका अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता पनि समितिले जनाएको छ।
समितिले विपद्को समयमा एकताबद्ध भएर सहयोग गर्न, बाल तथा महिला अधिकार र सामाजिक न्यायका पक्षमा दृढ भएर अघि बढ्न तथा संघर्ष, एकता र सामाजिक रूपान्तरणको अभियानलाई निरन्तरता दिन अपिल गरेको छ।