पोखरा– प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ ।
कम्पनीहरुले लामो समयको बन्दाबन्दी खुलेसँगै गत असोज १५ देखि व्यावसायिक उडान सुरु गरेका थिए । बाह्य पर्यटकको आगमन शून्य भएका अवस्थामा आन्तरिक पर्यटकबाटै पर्यटकीय गतिविधिलाई चलायमान बनाउन नाफा नहेरी उडानलाई निरन्तरता दिइएको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । उनले भने, ‘हामीले पर्यटकीय गतिविधि भएको छ भन्ने सन्देश दिन मात्र खोजेका हौँ, त्यसैले घाटा नै भए पनि प्याराग्लाइडिङ हौँ । अहिले दैनिक पोखरा र आसपासका करीब दुर्य सय आन्तरिक पर्यटकले उडान गर्नुभएको छ ।’
आन्तरिक पर्यटकको चहलपहलले थौरे भए पनि व्यावसायिक उडानप्रति आशा जगाउँदै लगेको उनको भनाइ छ । उनका अनुसार अहिले सहुलियत दरमा ३ हजारमा उडान गरिएको छ । पहिले ७ हजार ५०० मा हुने गरेको थियो । कोरोनाको उच्च जोखिमलाई ध्यान दिँदै स्वास्थ्य सतर्कतासहित प्याराग्लाइडिङ कम्पनीको अनुगमनसमेत गरेर ‘सेफ्टी र सेक्युरिटी’लाई समेत ध्यान दिइएको भण्डारीले बताए ।
पोखरामा हवाई खेलकुद संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका ३३८ प्यारापाइलट छन्, जसमा १२ महिला छन् । बन्दाबन्दी अगाडिसम्म १०÷१२ विदेशी प्यारापाइलट यस क्षेत्रमा थिए भने अहिले नेपाली मात्रै छन् । पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी छन् । यस क्षेत्रमा करिब १ अर्बको लगानी छ ।