काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सांसद ताहिर अलि भाटले आइतबार दिइँदै आएको साप्ताहिक बिदा हटाउन सरकारसँग माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आइतबारको बिदाका कारण सरकारी सेवा प्रवाह प्रभावित भएको दाबी गरे। सार्वजनिक सेवामा सहजता ल्याउन भन्दै उनले पुरानै साप्ताहिक बिदाको व्यवस्था फर्काउनुपर्ने धारणा राखे।सांसद भाटका अनुसार आइतबारको बिदा सरकारी कर्मचारीसँगै विद्यालय तथा शिक्षा क्षेत्रका लागि समेत आवश्यक नरहेको बताएका छन्। उनका अनुसार साताको बीचमा थप एक दिन कार्यालय बन्द हुँदा सर्वसाधारणले सरकारी सेवा लिन कठिनाइ भोग्नुपरेको छ।
उनले आइतबारको बिदाले प्रशासनिक काम, विकास निर्माण तथा सेवा प्रवाहमा समेत ढिलाइ भइरहेको दाबी गरे।सांसद भाटले आइतबारको बिदा हटाएर पहिलेको जस्तै शुक्रबार आधा दिन र शनिबार पूर्ण बिदा दिने व्यवस्था पुनः लागू गर्न सरकारलाई आग्रह गरे। जनताको आवश्यकता र भावनालाई ध्यानमा राख्दै निर्णय सच्याउनुपर्ने उनको भनाइ छ।