बेनी– म्याग्दीको धौलागिरि गाउँपालिकामा यस वर्षको वर्षाका कारण करिब २६ करोड बढीको भौतिक पूर्वाधारमा क्षति पुगेको छ । गत असार २५ र २६ गते वर्षासँगै आएको पहिरोका कारण निजी आवास, विद्यालय, सडक, खानेपानी, विद्युत्लगायत क्षेत्रमा पु¥याएको क्षतिको पुनर्निर्माण गर्न २६ करोड बढी बजेट आवश्यक पर्ने देखिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए ।
गाउँपालिकाले प्राविधिक टोली खटाएर पहिरो र बाढीले पुर्याएको क्षतिको विवरण र तथ्याङ्क सङ्कलन गरेको हो । पहिरो पीडितको पुनःस्थापना, क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा प्रदेश र सङ्घ सरकारसँग आवश्यक पहल गरिएको गाउँपालिकाले जनाएको छ । गत असारको पहिरोले मराङको रिख, राम्चे, कल्लेनी, ठूलोगाउँ र कुम्रीमा १९ जनाको मृत्यु तथा दुई जना बेपत्ता भएका थिए ।
पहिरोले वडा नम्बर ७ धारापानीको किसानी माविमा भवन भत्कन थालेकाले सो विद्यालयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको छ । पहिलो चरणमा पूर्णरुपमा घरबारविहीन भएकाको आवास पुनर्निर्माण गरिने र जोखिम र जीर्ण बनेका घरको समेत मर्मत र आवश्यकताअनुसार पुनर्निर्माणमा सघाउने योजना बनाएको अध्यक्ष पुनले बताए ।
धौलागिरिको वडा नं ६ मराङमा २४, वडा न ७ ताकम, धारापानीमा ३१ र ५ वडा मल्कबाङमा ५ घर गरी कूल ६० घर पहिरोले पूर्णरुपमा क्षति भएको छ । गाउँपालिकाले ताकम, धारापानी र मल्कबाङमा सुकुम्बासीबाहेकका पीडित परिवारको हकमा उनीहरुकै जग्गामा आवास पुनर्निर्माण गर्ने र मराङका पहिरो पीडितको लागि भने एकीकृत बस्ती बनाउने अवधारणा अघि सारेको उपाध्यक्ष रेशम छन्त्यालले बताए ।
भूगर्भविद्को टोलीबाट अध्ययनका लागि प्रदेश सरकारलाई पत्राचार गरिएको र अध्ययन र विस्तृत अध्ययन प्रतिवेदनका आधारमा पुनर्निर्माणलाई अघि बढाउने गाउँपालिकाको तयारी रहेको प्रवक्ता झकबहादुर छन्त्यालले बताए । हालै सम्पन्न विशेष गाउँसभाबाट गाउँपालिकाले आवास पुनर्निर्माणका लागि ४९ लाख ७३ हजार बजेट विनियोजन गरेको छ भने प्रकोप व्यवस्थापन कोषमा ५० लाख छुट्टाएको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले जानकारी दिए ।
प्रदेश र सङ्घ सरकार तथा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना), विभिन्न सहयोगदातासँग समन्वय गरी घरबारविहीन भएकाको आवास पुनर्निर्माण गर्न जुटेको गाउँपालिका अध्यक्ष पुनको भनाइ छ । गाउँपालिकाले पहिरो पीडितको सहयोगदार्थ सञ्चालन गरेको सहयोग सङ्कलन अभियानअन्तर्गत गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबाट ८ लाख र सहयोगदाताबाट रु ४२ लाख सहयोग जुटेको छ ।