काठमाडौं– कोरोना सङ्क्रमणका कारण पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । यससहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
पचास वर्षीया महिलाको कोरोना सङ्क्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । आमाशयको क्यान्सर रोगी महिला धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौं मेडिसिटी अस्पतालमा ‘केमो’ लिदै आएकी थिइन् ।
अहिलेसम्म काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाका दुई, पाँचखाल नपाका एक र धुलिखेल नपाका दुईको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो ।