काठमाडौं।हरेक वर्ष सेप्टेम्बर २९ मा विश्व मुटु दिवस मनाइन्छ।
बदलिँदो जीवनशैली, अस्वस्थ खानपान तथा धूम्रपानजस्ता कारणले पछिल्लो समय मुटुसम्बन्धी समस्या बढ्दै गएको चिकित्सकहरूले बताएका छन्।मुटु रोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीका अनुसार नेपालमा मुटु रोग बढ्नुका प्रमुख कारणमध्ये मानिसको जीवनशैली र खानपानमा आएको परिवर्तन मुख्य हो। यसका कारण उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल बढ्ने समस्या तथा हृदयाघातको जोखिम बढिरहेको उनको भनाइ छ।
उनका अनुसार स्वास्थ्य संस्था, क्लिनिक, स्वास्थ्य शिविर तथा विदेश जानुअघि गरिने स्वास्थ्य परीक्षणका कारण पहिले कुनै लक्षण नदेखिएका मुटु रोगसमेत पहिचान हुने क्रम बढेको छ।मुटुलाई स्वस्थ राख्न धूम्रपान, सुर्तीजन्य पदार्थ र मदिराको सेवनबाट टाढा रहन चिकित्सकले सुझाव दिएका छन्। खानामा नुन, चिल्लो, बोसोयुक्त तथा धेरै तारेका परिकारको मात्रा घटाउनुपर्ने, नियमित व्यायाम गर्नुपर्ने र शरीरको तौल नियन्त्रणमा राख्नुपर्ने डा. अधिकारीको सुझाव छ।
जन्मजात मुटु रोगको जोखिम कम गर्न गर्भावस्थामा अनावश्यक औषधिको सेवन नगर्ने र हानिकारक विकिरणबाट जोगिनुपर्ने उनले बताए। गर्भावस्थाको करिब २०औँ हप्तामा गर्भमा रहेको शिशुको मुटुको स्क्रिनिङ गर्न सकिने उनको भनाइ छ।त्यस्तै, बाथ मुटु रोग घाँटीको संक्रमणको उचित उपचार नहुँदा हुन सक्ने भएकाले टन्सिल वा घाँटीमा संक्रमण देखिए समयमै उपचार गराउन उनले आग्रह गरे।
मुटु रोगका संकेतका रूपमा मुटु ढुकढुक हुनु, सास फेर्न कठिनाइ हुनु र छाती दुख्नेजस्ता समस्या देखिन सक्ने भए पनि कतिपय अवस्थामा कुनै लक्षण नदेखिन सक्ने चिकित्सक बताउँछन्। त्यसैले लक्षण देखिएपछि मात्र परीक्षण गर्नेभन्दा समय–समयमा स्वास्थ्य जाँच गराउनु महत्वपूर्ण हुने डा. अधिकारीको सुझाव छ।युवावस्थामै हृदयाघातका घटना देखिनुमा वंशाणुगत कारणको पनि भूमिका भए पनि अस्वस्थ जीवनशैली, चिल्लो तथा बोसोयुक्त खानपान र विशेषगरी चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन प्रमुख जोखिमका रूपमा रहेको उनले बताए।