काठमाडौं।पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट पारित गरेको छ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको विश्वविद्यालयको ४३औँ सभाले रजिस्ट्रार प्रा.डा. पन्ना बहादुर थापाले प्रस्तुत गरेको आय–व्यय विवरणसँगै नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा स्वीकृत गरेको हो। बैठकको अध्यक्षता शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले गरेका थिए।आगामी वर्ष विश्वविद्यालयले शैक्षिक सुधार, प्रविधिमैत्री पूर्वाधार र चिकित्सा शिक्षाको विस्तारलाई मुख्य प्राथमिकतामा राखेको छ। गोठगाउँमा रहेको ८०५ बिघा क्षेत्रफलको जग्गामा गुरुयोजनाअनुसार एकीकृत भौतिक संरचना निर्माण तथा विकास गर्ने योजना अघि सारिएको छ।
प्रविधितर्फ एआई, डाटा साइन्स र साइबर सुरक्षाजस्ता नयाँ क्षेत्रलाई समेटेर विशिष्टीकृत पाठ्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ। इन्जिनियरिङ र चिकित्सा शिक्षामा समेत नयाँ तथा विशेषीकृत कार्यक्रम विकास गर्ने विश्वविद्यालयको योजना छ।विश्वविद्यालयका प्रशासनिक र शैक्षिक सेवाहरूलाई डिजिटल प्रणालीमा जोडेर सेवा प्रवाहलाई थप सहज र पारदर्शी बनाउने लक्ष्य राखिएको छ।
चिकित्सा शिक्षातर्फ गोठगाउँ परिसरमा निर्माण भइरहेको १०० शय्याको मातृ–शिशु अस्पताललाई पूर्णता दिने योजना छ। साथै, कोशी अस्पतालसँगको सहकार्यमा चिकित्सा शिक्षाको गुणस्तर सुधार गर्ने कार्यक्रम अघि बढाइएको छ।सभालाई सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले प्रविधि र विश्वव्यापी प्रतिस्पर्धाको बदलिँदो अवस्थाअनुसार उच्च शिक्षा प्रणालीलाई पनि रूपान्तरण गर्नुपर्ने बताए। उनले विद्यार्थीलाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्न सक्ने उद्यमशील जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।विश्वविद्यालयले जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी अनुसन्धान केन्द्र स्थापना गर्ने, विदेशी विश्वविद्यालयसँग संयुक्त डिग्री तथा विद्यार्थी आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने र पछाडि परेका समुदायका विद्यार्थीलाई छात्रवृत्तिको पहुँच बढाउने योजना पनि अघि सारेको छ।
सभाले कार्यकारी परिषद्का लागि तीन वर्षे कार्यकालका लागि तीन जना सदस्य मनोनयन गर्ने निर्णयसमेत गरेको छ।पारित बजेट तथा नीति–कार्यक्रममार्फत पूर्वाञ्चल विश्वविद्यालयलाई गुणस्तरीय, प्रतिस्पर्धी, अनुसन्धानमुखी, प्रविधिमैत्री र आत्मनिर्भर विश्वविद्यालयका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।