काठमाडौं– चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिन थालेको छ । अस्पतालले ¥यापिड एन्टिजेन टेष्ट मार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा शुरुआत गरेको हो । यसका लागि तीन हजार तिर्नुपर्ने हुन्छ ।
कलेजको प्रयोगशालामा गएको एक महिनामा पाँच हजार २९२ जनाको कोरोनाको पिसिआर परीक्षण गरेको छ । तीमध्ये ९५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कलेजले गत भदौ ३ गतेबाट पिसिआर परीक्षण थालेको हो । कलेजका सञ्चार संयोजक डा. किशोर अधिकारीका अनुसार सङ्क्रमितमध्ये ५५६ जना पुरुष र ३९७ जना महिला रहेका छन् । कूल सङ्ख्यालाई हेर्दा परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको हो ।
सङ्क्रमण भई अस्पतालमा उपचाररतमध्ये हालसम्म १३ जनाको मृत्यु भएको छ । अस्पतालले २२१ जना सङ्क्रमितको उपचार गरिसकेको जनाएको छ । हाल अस्पतालमा ९७ जना उपचाररत रहेका छन् । तीनजना भेन्टिलेटर र ४३ जनाको कोभिड सघन उपचार कक्षमा उपचार भइरहेको छ । अन्यको अवस्था सामान्य छ । अस्पतालमा उपचारका क्रममा रहेकामध्ये ४५ पुरुष र ५२ महिला रहेका छन् ।
कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले चार करोडभन्दा बढी खर्च गरेर प्रयोगशाला स्थापना गरिएको जानकारी दिए ।