काठमाडौं ।बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यसम्पादन सम्झौताको प्रक्रिया अघि बढाएको छ।
मुख्यमन्त्री किरण थापाले मंगलबार प्रदेशका मन्त्रीहरू तथा प्रमुख सचिव कमलप्रसाद भट्टराईसँग औपचारिक रूपमा कार्यसम्पादन करार सम्झौता गरेका हुन्।प्रदेश सुशासन ऐन, दुई हजार सतहत्तरको दफा उन्नाइस तथा सुशासन नियमावली, दुई हजार सतहत्तरको नियम नौमा भएको व्यवस्थाअनुसार यस्तो सम्झौता गरिएको जनाइएको छ।सम्झौतामा आर्थिक मामिला तथा योजना, उद्योग–पर्यटन–श्रम तथा यातायात, स्वास्थ्य तथा सामाजिक विकास, खानेपानी–ऊर्जा तथा सिँचाइ, भौतिक पूर्वाधार विकास र कृषि–पशुपन्छी–वन तथा वातावरण मन्त्रालयका मन्त्रीहरू सहभागी भएका छन्।
सम्झौतापछि मुख्यमन्त्री थापाले चालू आर्थिक वर्षका दुई महिना बितिसकेकाले अब विकास निर्माण तथा सरकारी काममा ढिलाइ गर्न नहुने बताए। उनले बाँकी अवधिलाई प्रभावकारी ढंगले प्रयोग गर्न मन्त्रालय र मातहतका कार्यालयले स्पष्ट कार्यतालिका बनाएर काम अघि बढाउनुपर्नेमा जोड दिए।मुख्यमन्त्री थापाका अनुसार प्रदेश सरकारसँग चालू आर्थिक वर्षमा काम सम्पन्न गर्न करिब दुई सय दिनको समय बाँकी छ। त्यसैले विकाससँग सम्बन्धित मन्त्रालयहरूले योजनाको कार्यान्वयनमा विशेष गति दिनुपर्ने उनको भनाइ छ।
निर्धारित समय, लागत र गुणस्तर कायम गर्दै बजेटमा समेटिएका योजनाबाट नागरिकलाई छिटो परिणाम दिने उद्देश्यले नतिजामा आधारित कार्यसम्पादन सम्झौता गरिएको मुख्यमन्त्रीले बताए।उनले सम्झौताको व्यवस्थाले मन्त्रालयदेखि प्रदेश मातहतका कार्यालय र नेतृत्व तहसम्मलाई आफ्नो काम तथा उपलब्धिप्रति थप जिम्मेवार र जवाफदेही बनाउने विश्वास व्यक्त गरे। बजेट विनियोजन भएका योजनाहरू तोकिएको समयभित्र अघि बढाउन मन्त्री तथा कर्मचारीलाई समेत उनले निर्देशन दिएका छन्।