काठमाडौं– हात्तीको दाह्रासहित प्रहरीले आज काठमाडौंको सुकेधाराबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर घर भई काठमाडौं कपन बस्ने २८ वर्षीय रुद्र लिम्बु, सिन्धुपाल्चोक घर भई सोही ठाउँ बस्ने २५ वर्षीय हरि कार्की र गोरखा घर भई काठमाडौं सामाखुसी बस्ने २२ वर्षीय सुबोध देवकोटा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आज अपराह्न काठमाडौं महानगरपालिका–४ सुकेधारामा हात्तीको दाह्राको खरिद बिक्री हुँदै छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । उनीहरुका साथबाट १० इञ्च लामो हात्तीको दाह्रा बरामद गरिएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।