काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली रहने मौसमविद्को पूर्वानुमान छ। महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, मधेस, बागमती र गण्डकीका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ। यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा पनि वर्षाको सम्भावना उत्तिकै रहेको छ। मधेस प्रदेशसहित बागमती र गण्डकीका तराई भूभागका धेरै स्थानमा, कोशी र लुम्बिनीका केही स्थानमा तथा सुदूरपश्चिमका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा मधेससहित बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा तथा पहाडी क्षेत्रका केही र तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।