काठमाडौँ। भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकको शव पहिचान गर्ने कामलाई सहज बनाउन नेपाल प्रहरीले डीएनए परीक्षणलाई तीव्र बनाएको छ।
बाढीपछि फेला परेका शव तथा शरीरका विभिन्न अङ्गको पहिचानमा त्रुटि नहोस् भन्ने उद्देश्यले प्रहरीले आधुनिक फोरेन्सिक प्रविधिमार्फत डीएनए प्रोफाइलिङ गरिरहेको जनाएको छ। त्यसका लागि बाढी प्रभावित क्षेत्रबाट प्राप्त मृतकका नमुना र उनीहरूका सम्भावित आफन्तबाट सङ्कलन गरिएका नमुनाबीच वैज्ञानिक तुलना भइरहेको छ। नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशीले नमुना सङ्कलनदेखि सुरक्षित भण्डारण र परीक्षणसम्मका प्रक्रिया वैज्ञानिक मापदण्डअनुसार अघि बढाएको छ। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले विपद्पछिको खोज, उद्धार र शव पहिचानलाई प्रहरीले प्राथमिकतामा राखेको बताए।
प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालका अनुसार बाढी प्रभावित क्षेत्र तथा मृतकका आफन्तबाट थप नमुना प्राप्त हुने क्रम जारी छ। उनका अनुसार प्राप्त नमुनालाई सुरक्षित राखेर आवश्यक प्रक्रिया पूरा गरी डीएनए परीक्षणमा जनशक्ति निरन्तर खटाइएको छ। प्रहरीका अनुसार हालसम्म मृतकका आफन्त तथा अन्य स्रोतबाट ८०८ वटा रगतका नमुना, मृतकका दाँत तथा हड्डीबाट ३४८ वटा नमुना र ८४ वटा औँलाछापसम्बन्धी नमुना प्रयोगशालामा प्राप्त भएका छन्। यीमध्ये डीएनए तथा अन्य फोरेन्सिक परीक्षणका लागि जम्मा १ हजार २४० नमुना प्राप्त भएको छ।
डीएनए प्रोफाइलिङका लागि हालसम्म २६ जिल्लाबाट रगतका नमुना प्रयोगशालामा पुगेका छन्। त्यस्तै, शव पहिचानका लागि मृतक र उनीहरूका आफन्तबाट गरी कुल २ हजार ६७८ डीएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ। यसमा मृतकका १ हजार २८६ र आफन्तका १ हजार ४१२ नमुना छन्। मृतकबाट सङ्कलित नमुनामध्ये चितवनबाट ३५४, धादिङबाट ७०, नुवाकोटबाट २०७, रसुवाबाट १३४, नवलपरासी पूर्वबाट १९९, तनहुँबाट ३८, गोरखाबाट ७१ र नवलपरासी पश्चिमबाट २१३ नमुना रहेका छन्। नेपाल प्रहरी अस्पतालमा मात्रै हालसम्म ९९० जना मृतकका आफन्तको नमुना सङ्कलन गरिएको छ। अन्य जिल्लामा पनि नमुना सङ्कलनको कामलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ। डीएनए प्रोफाइलिङ व्यक्तिको पहिचान पुष्टि गर्न तथा दुई वा दुईभन्दा बढी व्यक्तिबीचको जैविक सम्बन्ध पहिचान गर्न प्रयोग हुने वैज्ञानिक विधि हो।
भोटेकोशी बाढीपछि अझै सम्पर्कविहीन रहेका नेपाली तथा विदेशी नागरिकको पहिचानका लागि पनि यो विधि प्रयोग भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाढीमा फेला परेका शव वा शरीरका अङ्गबाट लिइएका नमुनालाई सम्भावित आफन्तबाट सङ्कलन गरिएको नमुनासँग तुलना गरी पहिचान यकिन गरिनेछ। शव पहिचान तथा डीएनए परीक्षणको सम्पूर्ण प्रक्रियालाई वैज्ञानिक र व्यवस्थित बनाउन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विशेष निर्देशन तथा निगरानी गरिरहेका छन्। प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक धर्मराज भण्डारीले पनि नमुना सङ्कलन, सुरक्षित भण्डारण र परीक्षणको कामलाई व्यवस्थित रूपमा अघि बढाइएको जानकारी दिए।