काठमाडौंं– केन्द्रीय तथ्यांक विभागले हरेक १० वर्षमा गर्ने राष्ट्रिय जनगणनाको १२औं शृंखलामा पहिलोपटक पूर्णगणना गर्ने भएको छ । यो जनगणना २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुनेछ ।
यस जनगणनामा सम्पूर्ण घरको प्रयोजनसहितको गणना, प्रविधिको प्रयोग, सामुदायिक प्रश्नावलीको प्रयोग विषयगत प्रतिवेदन र तथ्यांकमा सुलभ पहुँच हुने विभागले जनाएको छ । विभागको टोलीले आज आगामी जनगणना, २०७८ को तयारी सम्बन्धमा अन्तक्रिया गरी सो सम्बन्धमा भएका कामकारबाहीबारे जानकारी गराएको छ ।
विभागका निर्देशक ढुण्डीराज लामिछानेले जनगणना तयारीबारे प्रस्तुतीकरण गर्दै हालसम्म संघ, प्रदेश र स्थानीय तहबाट मस्यौदा प्रश्नावलीमा सुझावहरु संकलन, तहगत समन्वय, सहकार्य र सहयोगसम्बन्धी अध्ययन प्रतिवेदन तथा प्रदेश सरकारको संलग्नतामा प्रदेशस्तरीय अन्तक्रिया कार्यक्रम र ७७ जिल्लामा सचेतना तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिए ।
केन्द्रीय तथ्यांक विभागले हरेक १० वर्षमा गरिने जनगणना १९६८ देखि सञ्चालन गर्दै आएको छ । गत आर्थिक वर्षदेखि तयारी शुरु गरिएको यस गणनामा नेपालको जनसंख्या तीन करोड पुग्ने अनुमान गरिएको छ ।