काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीमा पानी जम्मा गर्न प्राकृतिक हिसाबले सम्भव सबै उपाय प्रयोग गरिने बताएका छन् । प्राधिकरण, पुरातत्त्व विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका अधिकारी, विज्ञ, अभियानकर्मी र स्थानीयबीच आज भएको अन्तरक्रियामा उनले रानीपोखरीमा अकासे पानी संकलनलाई पहिलो प्राथमिकता दिइएको बताए ।
रानीपोखरीको पिँध र वरिपरिको पर्खाल पुनर्निर्माण सम्पन्न भएपछि अकासे पानी जम्मा हुन थालेको छ । दरबार हाइस्कूल, त्रिचन्द्र कलेजलगायत क्षेत्रबाट पानी हार्भेस्टिङका लागि काम जारी रहेको प्राधिकरणले जनाएको छ ।
विकल्पका रुपमा मात्र टुँडिखेल क्षेत्रमा रहेका इनारको पानी, डिप बोरिङ र मेलम्चीको पानी रानीपोखरीमा हालिनेछ । – रासस