काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन कार्यक्रम काठमाडौंको खुलामञ्चमा दिउँसो २ बजे आयोजना हुँदैछ भने त्यसपछि भोलिदेखि बन्दसत्र सुरु हुनेछ।
महाधिवेशनमा देशका विभिन्न जिल्ला तथा विदेशस्थित जनसम्पर्क समितिबाट आएका ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेतासँगै विभिन्न देशका प्रतिनिधि तथा संघसंस्थाका प्रतिनिधिको समेत सहभागिता रहनेछ। असोज २२ गतेसम्म सञ्चालन हुने महाधिवेशनलाई लक्षित गर्दै प्रतिनिधि तथा सहभागीका सवारीसाधन व्यवस्थापनका लागि काठमाडौंका विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ।
महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक तथा कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार ट्राफिक प्रहरीसँगको समन्वयमा खुलामञ्च आउने प्रतिनिधिका सवारीसाधन पार्किङका लागि विभिन्न ठाउँ तोकिएको छ। उनका अनुसार धरहराको अन्डरग्राउन्ड पार्किङ, माइतीघरदेखि भद्रकालीसम्मको वान–वे सडकको एकतर्फी भाग तथा दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ।
त्यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डप परिसरमा समेत सवारीसाधन पार्किङ गर्ने व्यवस्था मिलाउने विषयमा ट्राफिक प्रहरीसँग समन्वय भइरहेको स्वाँरले जानकारी दिएका छन्। महाधिवेशनका क्रममा काठमाडौं उपत्यकामा सवारीसाधनको चाप बढ्नसक्ने भएकाले ट्राफिक व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिएको कांग्रेसले जनाएको छ।