काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जे पनि हुन सक्छ तर कोही पनि उत्तेजनामा नआउन’ आग्रह गरेका छन् ।
उनले यस्तो अवस्थामा कोही पनि उत्तेजनामा आउनु हुँदैन । यस्तो बेला साहस र धैर्यको आवश्यकता रहेको बताएका छन् ।
पार्टीको स्थायी कमिटीको बैठकमा उपस्थित भएका नेताहरुलाई ब्रिफिङ गदै उनले उक्त कुरा बताएको एक स्थायी कमिटी सदस्यले बताए ।
प्रचण्डले बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुलाई पार्टीलाई विभाजन हुनबाट जोगाउन आग्रह गरेका छन् । पार्टी गम्भीर अस्थामा पुगेको भन्दै प्रचण्डले यसबेला सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर पार्टीलाई विभाजनबाट जोगाउनु पर्ने कुरामा जोड दिए ।
उनको भनाइ भन्दै एक सदस्यले भने ‘अहिले कोही पनि उत्तेजनामा आएर गलत कदम नउठाउनु होला, ठूलो बलिदान र योगदानबाट नेकपा बनेको हो यसलाई कसैको लहड उत्तेजनाबाट विभाजन हुन दिनु हुँदैन ।’
बैठक बस्नुअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल भएको भएपनि छलफलमा कुनै निष्कर्ष ननिस्केपछि प्रचण्डले ओलीविना नै बैठक सञ्चालन गरेका छन् ।
प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा स्थायी कमिटीको बैठक स्थगित गरेपछि बालुवाटारमा प्रचण्ड–माधवकुमार नेपाल समूहका स्थायी कमिटीको बैठक बसिरहेको छ ।