एजेन्सी– भारतको जीएसटी परिषदले मोबाइल फोनमा माल एवंम सेवाकर (जीएसटी) दरलाई पहिलेको भन्दा ६ प्रतिशतले बृद्धि गर्ने निर्णय गरेको छ। यसअघि भारतमा मोबाइल फोनमा १२ प्रतिशतसम्म जीएसटी लिने गरिन्थ्यो। जीएसटी परिषदले अब भने १८ प्रतिशतसम्म बृद्धि गर्ने निर्णय गरेको हो।
परिषदको यस कदमसँगै भारतीय बजारमा मोबाइल फोनको मुल्य बढ्ने भएको छ। परिषदको सो निर्णयलाई इन्डिया सेल्युलर एसोसिएशन (Indian Cellular Association) ले डिजिटल इन्डियाको लागि हानिकारक कदम भएको जनाएको छ। साथै यस निर्णयले भारतीय मोबाइल बजारमा बिक्रीदर समेत घटाउने बताएकाे छ।
त्यसैगरि शाओमी इन्डियाका एमडि मनु कुमार जैनले परिषदको यस कदमले उद्योगमा निकै ठुलो गिरावट आउन सक्ने बताएका छन्। शाओमी भारतको सबैभन्दा ठुलो स्मार्टफोन बिक्रेता कम्पनी मध्ये एक हो।
नेपाली बजारमा विश्वका विभिन्न देशबाट विभिन्न कम्पनीका मोबाइल फोनहरु भित्रिने गरेको छ। ती मध्ये अधिकांश मोबाइल फोनहरु भारत र चीनबाट आयात हुने गर्दछ। प्राय जसाे चिनियाँ ब्राण्डहरुले पनि भारतमा नै मोबाइल उत्पादन गर्ने गर्दछ। यसरी त्यहाँ नै करको दर बढ्दा नेपालमा पनि मोबाइल फोनहरुकाे मूल्य स्वत: बढ्ने छ।