काठमाडौं - जब आकाशमा चङ्गा उड्न थाल्छ तब दशैँ आएको भान हुन्छ। आकाश अनि चङ्गा जो एक आपसमा जोडिएका हुन्छन्। चङगालाई आकाश र धर्तीको मिलनको माध्यम पनि मानिन्छ। देशअनुसार चङ्गाहरूको विभिन्न आकार – प्रकार भएपनि नेपाली चङ्गाहरू मौलिक छन्। नेपाली चङ्गाहरूको बनोट प्रक्रियामा पनि फरक पाइन्छ। नेपालमा चतुर्भुज आकारका चङ्गाहरू बढी चलनचल्तीमा छन्। आधुनिकरणसंगै चंगा उडाउने प्रवृति लोप हुदै गएको हुदा आजभोली दशैको बेलामा पनि चंगा व्यापार ठप्प जस्तै बन्न पुगेको छ। केही बर्ष अघिसम्म नेपालीहरुमा दशैंको उत्साहमा चंगाहरुले पनि रौनक थप्ने गर्दथे। तर आजभोली भने आकाशमा चंगै देख्न मुस्किल पर्न थालेको छ।
चंगामा पनि पानबुट्टे, धर्के, पुच्छरे, धागो आदिका चंगाको ब्यापार बढी मात्रामा हुने गरेको कालिमाटिका एक चंगा व्यापारीको अनुभव छ। तर आजभोली आधुनिकतासंगै सामाजिक सञ्जालमा भुलिएको युवा पुस्ताको चंगाप्रतिको मन चुँडिएपछि दशैंका बेलाको आकाश रित्तो—रितो देखिन थालेका छन्। आफ्नो हजुरबुबाको पाला देखीको पेसा भएका कारण चंगा व्यापार पेशालाई नै अंगाल्दै आएका मोहनमान मानन्धर बताउँछन्। वर्षमा चार महिना मात्र सिजन हुने हुँदा चंगाको व्यापार राम्रो हुन्छ तर अरु बेलामा भने चंगाको त्यस्तो राम्रो व्यापार नहुँने गरेको मानन्धर बताउँछन्। अरु बेलामा राम्रो व्यपार नभएता पनि पुर्खौली पेशालाई नै अंगालेको मानन्धर बताउँछन्। कालिमाटीमा हजुरबुवाले करिब ६० वर्षअघि खोलेको त्यही साँघुरो चङ्गा पसल अहिले उनैले सम्हाल्छन्। दशैं लागेता पनि ४—५ वर्षको तुलनामा अधिक मात्रामा व्यापार घटेको उनी बताउँछन्। एक छोरा श्रीमति भाई बुहारी र बुबाको साथमा बसिरहेका उनी यही व्यवसायबाट पनि धेरथोर पारिवारिक तथा आर्थिक रुपमा सहयोग पुगेको मानन्धर बताउँछन्। चंगाहरु उड्न छाडेपछि चंगा र लट्टाईको व्यापारमा थोरै कमि आएको छ।
बिज्ञान र प्रविधिको युग सँगै अहिलेका मानिसहरु अल्छि हुँदै गएका छन् पहिलापहिला चंगा उडाउन रहर गर्ने युवा पुस्ता तथा केटाकेटीहरु अहिले मोवाईल र इन्टरनेटमा कोठा भित्रै रम्न थालेपछि अस्तित्व गुम्दै गएको मानन्धर बताउँछन्। अरु बेला नभए पनि दशैंकै बेलामा भए पनि उनको पसल खोज्दै आउने नियमित ग्राहकहरु भने धेरै छन्। ग्राहक त आउँदै जाँदै गर्छन्। उनका पसलमा विभिन्न गाउँ ठाउका मान्छेहरु चङ्गा किन्न आएका देखेर एकछिन दङ्ग खुसी र अचम्मीत समेत हुने गर्छन्। उनको पसलमा भएको चंगा विक्रिका लागि नारायणगढ, पोखरा, बनेपा, बाह्रविसे, टिस्टुङ पालुङ्ग जस्ता ठाउहरुमा पुग्ने गरेको मानन्धर बताउँछन्। मानन्धरको पसलमा भारतबाट चङ्गा तथा धागोहरु आउँछ। लट्टाइ भने नेपालमै उत्पादन भएको बेच्छन्। दिनमा करिव २५ देखी ३० हजार सम्मको व्यापार गरेको उनी सुनाउँछन्। अहिलेको सिजनको बेला भएर त्यति को व्यापार भएको हो नत्र अरु बेलामा भने दुई तिन हजारको मात्र व्यापार हुँन गरेको मानन्धरको भनाईं थियो। हाल पाँच रुपैयाँदेखि दुई सय रुपैयाँसम्मको चङ्गा छ उनको पसलमा। प्लास्टिकका चङ्गाको सबैभन्दा कम मोल र कपडाको चङ्गा सबैभन्दा महङ्गोमा बिक्री हुन्छ।
विशेषत: सजाउनका लागि प्रयोग हुने कपडाको चङ्गा एक सय पचासदेखि चार सय सम्मका छन्। तर, सबैभन्दा बढी बिक्री हुने चाहिँ कागजका रङ्गिन चङ्गा नै हुन्। मानन्धरका अनुसार उडाउन जान्ने हरुले चैँ कपडाको चङ्गा लाने गर्छन भने उडाउन त्यती राम्रो सँग नआउनेहरुले भने प्लास्टीकको चंगा लाने गरेको उनी बताउँछन्। चङ्गा धेरै बिके पनि उनको फाइदाको ज्यादा हिस्सा भने धागो व्यापारमा छ। चालिस रुपैयाँदेखि सुरु हुने धागोको मूल्य हजार रुपैयाँसम्म छ। धागोको गुणस्तर र लम्बाइका आधारमा मूल्य तोकिएको उनी बताउँछन्। सजाउनकै लागि भनेर निकै साना आकारका चङ्गाहरु प्याकेटमा आउन थालेका छन्। ती प्याकेटको एक सयदेखि दुई सय पचाससम्म पर्छ। ‘हरेक प्याकेटमा पन्ध्रदेखि तीसवटासम्म चङ्गा हुन्छन्। गुणस्तर अनुसार मूल्य फरक पर्छ,’ उनले भने। धेरै खालका चङ्गा भएता पनि प्लास्टिकको चङ्गा भने बालबालिकाले बढि खपत् गर्छन्। सस्तो, पानीले नभिज्ने, हत्तपत्त नच्यातिने भएकाले पनि उनीहरु प्लास्टिकको चङ्गा रुचाएको मानन्धर बताउँछन्।
दशैको केही दिन अघि देखीनै ह्वात्तै बढ्ने चङ्गाको बजार पूर्णिमाको दिनसम्म उस्तै रहन्छ। यति बेला उनको पसलमा भ्याइनभ्याई छ। पसलमा अहिले उनलाई भाई बुहारीले सहयोग गरिरहेको बताउँछन्। उनी भन्छन् ‘ पहिला पहिला त धेरै घर नहुँदा खुल्ला ठाउँबाट चंगा उडाउन सहिजो हुने गर्दथ्यो तर अहिले ढलान गरेका अग्ला घरहरु बढेका छन् जसका कारण चंगा उडाउन गाह्रो हुने बताउँछन्।अघिल्ला ५ वर्षको तुलनामा नयाँ पुस्ताहरु इमेल र इन्टरनेटको दलदलमा फसिसकेको छ। उनीहरुलाई चङ्गा उडाउनु भन्दा पनि मोबाईलका ग्यमहरु नै प्यारो लाग्ने गरेको अहिलेको युवा पुस्ताले प्रस्ट पार्दछ। जसका कारण हाम्रो मौलीक सभ्यता नै सङ्कटमा नै पर्ने त हैन भन्ने डर एकातिर लाग्ने गर्दछ भने पहिलाको तुलनामा भन्दा अहिले केही रुपमा कम त होला तर अस्तीत्व नै सकिने त हुँदैन होली की? भन्ने प्रश्न उनको मनमा उठ्ने गरेको मानन्ध बताउँछन्।
दशैंमा चङ्गाको महत्व
धार्मिक मान्यताको विश्वास गर्ने हो भने अब पानी पुग्यो भनेर इन्द्रलाई सन्देश पठाउने वाहक पनि हो चंगा। तर अहिले भने नेपाली आकाशमा नै चंगा उड्न छोडिसकेको छ। पाईन्छ होला तर सामान्य कहि कतै मात्र। नेपाली समाजमा चङ्गा उडाउनुलाई मनोरञ्जनमा मात्र सीमित राख्न मिल्दैन। चंगा उडाउनुको धार्मिक, सामाजिक तथा बैज्ञानिक कारणहरु कायम नै छ। चंगा उडाउनुलाई शुभ सगुनकारूपमा मान्ने संस्कार कायम नै छ। लोककथा र किंवदन्ती अनुसार, वर्षायाममा परेको प्रशस्त पानी पछि मौसमले शरद ऋतुको स्वागत गर्दै धान पाक्ने बेला पनि भइसकेको हुन्छ। त्यसैले जलका देउता इन्द्रलाई पानी पुग्यो प्रभू भनेर चङ्गा उडाएर सन्देश पठाउने गरेको विश्वास गरिन्छ। त्यसै गरि चङ्गालाई पृथ्वी र स्वर्गको सम्पर्कको माध्यमकोरुपमा पनि लिइन्छ।