काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठकले खोलाकिनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकको व्यवस्थापनका लागि अधिकार सम्पन्न प्राधिकरण गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।
बैठकपछि प्रवक्ता मनिष झाले खोलाकिनारका असुरक्षित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पार्टीले गम्भीर रूपमा मुद्दा उठाएको जानकारी दिए। उनका अनुसार पार्टीले मनसुनअघि नै जोखिममा रहेका परिवारको सुरक्षित व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ। रास्वपाले आगामी चैत्र मसान्तभित्र कम्तीमा ७५ प्रतिशत प्रभावित परिवारको पुनर्स्थापना गर्नुपर्ने सुझावसमेत दिएको छ।
यसका लागि प्रस्तावित प्राधिकरणले लगत संकलन, अध्ययन तथा व्यवस्थित पुनर्स्थापनाको प्रक्रिया अघि बढाउनेछ। त्यसैगरी, अपचलनको उद्देश्य नभएका स्थानमा डोजर नचलाउन र आधिकारिक अध्ययनपछि मात्र प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिइएको छ।बैठकले आगामी स्थानीय तह निर्वाचनको तयारी, उम्मेदवार छनोट प्रक्रिया, पार्टीको विधान संशोधन तथा महाधिवेशन कार्यविधि पनि पारित गरेको छ।