काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधिसभाको पहिलो बैठकमा दिएको अभिव्यक्तिलाई सभामुख डोलप्रसाद अर्यालले संसद्मा स्वीकार नगरेका छन्।
लामिछानेले २०८२ फागुन १२ गते झापाको बिर्तामोडमा चुनावी कार्यक्रमको क्रममा विघटित प्रतिनिधिसभाका सभामुख तथा झापा–२ का उम्मेदवार देवराज घिमिरेमाथि “जनताको आवाज उठाउँदा माइक काटिएको” आरोप लगाएका थिए। त्यसपछि चैत १९ गतेको प्रतिनिधिसभा बैठकमा लामिछानेले भने, “आस्थाको आधारमा फरक व्यवहार हुनेछैन। अन्यायपूर्वक कुरा नसुन्ने वा माइक काट्ने कार्य कहिल्यै हुने छैन।” उनको अभिव्यक्तिलाई रास्वपाका सांसदहरूले टेबुल ठोकेर स्वागत गरेका थिए।
तर, चैत २२ मा सभामुखमा निर्वाचित डीपी अर्यालले सोमबार र मंगलबार दुवै दिन सांसदले बोल्दा माइक काटेका थिए। यस क्रममा शून्य समयमा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउन आएका अधिकांश सांसदको माइक पनि समय सकिएपछि काटिएको थियो। यसअघि लामिछानेले प्रतिनिधिसभाको पहिलो बैठकमा सांसद बोल्दा माइक नकट्ने प्रतिबद्धता जनाएका थिए। तर, आफ्नै पार्टीबाट सभामुख बनेका अर्यालले सांसदले बोलेको क्रममा माइक काट्दा राजनीतिक विवाद उत्पन्न भएको छ।