काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई डर र त्रासमा नपर्न आग्रह गरेका छन्।
आइतबार निजी क्षेत्रका प्रतिनिधिसँगको भेटघाटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई निरुत्साहित गर्नु नभई नीति सुधार र सुशासन कायम गर्नु रहेको बताए। उनले केही व्यवसायीमा असमञ्जस र डरको भावना देखिएको सुनेपछि प्रत्यक्ष छलफल गर्न चाहेको उल्लेख गरे। सुशासनको अभियानलाई तीव्र गतिमा अघि बढाउने क्रममा केही प्रश्न वा प्रक्रिया व्यवसायीसम्म पुग्न सक्ने भन्दै त्यसलाई सहज रूपमा लिन आग्रह गरे।
लामिछानेले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको स्पष्ट पारे। साथै, वर्तमान सरकार चुनावी घोषणापत्रअनुसार नै सञ्चालन हुने र जनतासमक्ष गरिएका प्रतिबद्धताबाट विचलित नहुने दाबी गरे। उनले उद्योगी–व्यवसायीलाई सरकारका कमजोरीप्रति पनि सचेत गराउँदै आन्तरिक लेखापरीक्षण गर्न तथा विगतका त्रुटि सुधार प्रक्रियामा राज्यसँग सहकार्य गर्न सुझाव दिए।