काठमाडौँ — समाज कल्याण परिषद्ले हरित कृषि सहकारी संस्था लिमिटेडसँग काठमाडौँको प्रदर्शनीमार्गमा रहेको फनपार्क र टुकुचा तरकारी बजारसँगको जग्गा भाडा सम्झौता रद्द गरेको छ।
परिषद्ले सहकारीलाई पठाएको सम्झौतापत्रमा २०७४ असोज ३० गते सहकारीसँग २५ वर्षका लागि करार गर्ने भनिए तापनि करार प्रक्रियामा कुरा नमिलेपछि सम्झौता नै रद्द गरेको उल्लेख गरेको छ। परिषद्ले प्रदर्शनीमार्गमा रहेको आफ्नो साढे ८३ रोपनी जग्गाको भाडा करार सम्झौता रद्द गरिएको पत्र सहकारीलाई पठाएको हो।
परिषद् अधिनमा रहेको सो जग्गा सहकारीलाई सस्तो मूल्यमा भाडा लगाएको विषयमा विवाद थियो। वर्तमान सरकारले सरकारी सम्पत्तिको दुरुपयोग गर्नेलाई कारवाही गर्ने कामलाई तीव्ररुपमा अघि बढाएको छ। सोही क्रममा परिषद्ले सो फनपार्क र टुकुचामा रहेको जग्गाको भाडा लगाउने सम्झौता खारेज गरेको हो। रासस