काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मधेश प्रदेशका जिल्लाहरूमा जाने भएका छन् । लामिछाने पार्टी अधिवेशनको वातावरण बनाउन भदौ १० गतेपछि भ्रमणमा निस्कने भएको रास्वाले जनाएको छ । रास्वपाले देशका अन्य छ वटा प्रदेशको अधिवेशन सम्पन्न गरेर केन्द्रीय महाधिवेशन गरे पनि आन्तरिक किचलोका कारण मधेश प्रदेशको अधिवेशन सम्पन्न गर्न सकेको थिएन।
मधेशका आठ जिल्लामध्ये पर्सामा मात्र नयाँ नेतृत्व चयन भएको छ भने बाँकी जिल्लाहरूमा अधिवेशन प्रक्रिया सुरु भएपछि विवाद उत्पन्न भई स्थागित भएको थियो। जिल्ला मातहतका तल्लो तहका पार्टी संरचनाहरूमा पनि अधिकांश स्थानको अधिवेशन हुन बाँकी नै रहेको छ। सभापति लामिछानेले महाधिवेशन सकिएलगत्तै मधेशका सांसदहरूसँगको भेटमा आफू स्वयं उपस्थित भएर अधिवेशन गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
रास्वपा मधेश प्रदेशका एक सांसदका अनुसार बुधबार मधेशका सांसदहरूसँग भएको भेटका क्रममा सभापति लामिछानेले भदौ १० गतेपछि भ्रमण सुरु गर्ने जानकारी दिए ।उनले चितवन हुँदै पर्साको ठोरीबाट मधेशका विभिन्न जिल्लाहरूको यात्रा गर्ने र यात्रा मुख्य रूपमा रोकिएका अधिवेशनहरू सञ्चालन गराउने उद्देश्यमा केन्द्रित रहन रास्वपाले जनाएको छ।