काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएका पार्टी तथा संसदीय दलका बैठकमा प्रधानमन्त्री एवं संसदीय दलका नेता बालेन्द्र शाह ‘बालेन’को लगातार अनुपस्थितिले राजनीतिक वृत्तमा चासो बढाएको छ।
रास्वपाको पार्टी सञ्चालन लामिछाने र सरकार सञ्चालन शाहले गर्ने सहमतिसहित उनीहरूबीच सातबुँदे समझदारी भएको थियो। त्यसपछि शाहलाई संसदीय दलको नेता चयन गर्दै प्रधानमन्त्री बनाइएको थियो। तर प्रधानमन्त्री बनेयता उनी पार्टीका अधिकांश बैठक तथा कार्यक्रममा सहभागी भएका छैनन्। बुधबार लामिछानेले बोलाएको संसदीय दलको छलफलमा समेत शाह उपस्थित भएनन्। सोही समयमा उनी प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव तथा मन्त्रीहरूसँग सरकारी काममा व्यस्त रहेको बताइएको थियो।
पार्टीका बैठकमा मात्र होइन, रास्वपाले आयोजना गरेका प्रशिक्षण, छलफल तथा सर्वदलीय बैठकमा समेत शाहको उपस्थिति निकै कम देखिएको छ। पार्टीले आयोजना गरेका यसअघिका प्रशिक्षण कार्यक्रममा पनि उनी सहभागी नभएको रेकर्ड छ। संसदीय दलको नेता भएपछि शाहले अहिलेसम्म आफैँले दलको बैठक आह्वान गरेका छैनन्। लामिछानेले बोलाएका बैठकमा पनि उनी प्रायः अनुपस्थित रहने गरेपछि पार्टीभित्रै संसदीय दल सञ्चालनको प्रक्रिया र नेतृत्वको भूमिकामाथि प्रश्न उठ्न थालेको छ।
यद्यपि, लामिछानेले बुधबारको कार्यक्रमलाई औपचारिक संसदीय दलको बैठक नभई अनौपचारिक छलफल भएको बताएका थिए। आगामी बैठकमा दलका नेता शाह सहभागी हुने उनको दाबी थियो। प्रधानमन्त्री निकट स्रोतले भने शाह पार्टीका नियमित गतिविधिमा प्रत्यक्ष रूपमा सहभागी नहुने कुरा पहिले नै स्पष्ट रहेको जनाएको छ। स्रोतका अनुसार पार्टी सभापति र प्रधानमन्त्रीबीच नियमित संवाद तथा समन्वय भइरहेको छ र दुवैको सहमतिमै पार्टी तथा सरकारका गतिविधि अघि बढिरहेका छन्।
तर, संसद् बैठकमा समेत प्रधानमन्त्री शाहको अनुपस्थिति पटक–पटक देखिएको छ। नीति तथा कार्यक्रम, बजेटलगायत विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले आलोचना गर्दै आएका छन्। संसदीय व्यवस्थामा दलको नेता महत्वपूर्ण भूमिकामा रहने भएकाले पार्टी तथा संसदीय दलका बैठकमा उनको निरन्तर अनुपस्थितिलाई सामान्य रूपमा लिन नहुने टिप्पणी पनि भइरहेको छ। यही कारण अहिले रास्वपाभित्र एउटा प्रश्न चर्चामा छ—प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाह पार्टीका बैठक र संसदीय गतिविधिबाट किन लगातार टाढिँदै छन् ?