काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा प्रहरी टोलीले खानतलासी गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीले आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद शाहीले गृहमन्त्रीलाई सम्बोधन गरी ठूला भ्रष्टाचारका काण्डहरूका दोषीलाई छोडेर प्रसाईंमाथि मात्रै लगातार निगरानी र धरपक्कड गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
सांसद शाहीले देशका ठूला ठूला भ्रष्टाचार तथा घोटाला काण्डका आरोपीहरू खुला घुमिरहँदा पनि प्रहरी उनीहरूको घरसम्म पुग्न नसकेको तर प्रसाईंको घरमा भने ताकेता गरिरहेको आरोप लगाए “यो देशको सबैभन्दा ठूलो अपराधी दुर्गा प्रसाईं नै रहेछन् कि क्या हो गृहमन्त्रीज्यू?“ भन्दै प्रश्न गरेका शाहीले वाइडबडी, एनसेल, मेलम्ची र ओम्नी जस्ता ठूला भ्रष्टाचारका प्रकरणमा जोडिएका मुख्य नाइकेहरूको घरमा प्रहरी पुग्न नसकेको टिप्पणी गरे ।
प्रहरी प्रशासनलाई फुर्सद हुने बित्तिकै दुर्गा प्रसाईंको घरमा टोली पठाउने गरिएको भन्दै उनले सरकारको नियतमाथि प्रश्न उठाएका छन् । व्यङ्ग्यात्मक शैली अपनाउँदै सांसद शाहीले लेखेका छन्, “गृहमन्त्रीज्यू, अब प्रहरी साथीहरूलाई साँच्चै दुर्गा प्रसाईंको घर जानै यति फुर्सद हुन्छ भने एउटा काम गरौँ— प्रहरी चौकी नै दुर्गा प्रसाईंको घरभित्र स्थापना गरौँ!”
मेडिकल व्यवसायी प्रसाईंले लघुवित्त तथा मिटरब्याज पीडितहरूलाई उक्साएर आन्दोलन गराएको र शान्ति सुरक्षामा खलल पु¥याएको आरोपमा प्रहरीले बिहीबार उनको घरमा खानतलासी गरेको थियो।