काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक शुक्रबार बस्दैछ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार महामन्त्री विपिन कुमार आचार्यले बिहान ११ः०० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरेका छन् । आगामी स्थानीय तहको निर्वाचन तथा पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरणलाई मुख्य केन्द्रमा राखेर बैठकका कार्यसूचीहरू तय गरिएका छन्।
बैठकको प्रमुख कार्यसूचीमा आगामी स्थानीय तह निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने विषय रहेको छ। रास्वपाले आगामी निर्वाचनमा योग्य उम्मेदवार तय गर्दा अपनाइने विधि, मापदण्ड र प्रक्रियालाई यसै बैठकमार्फत अन्तिम रूप दिने तयारी गरेको छ। साथै, स्थापनाकालदेखि नै उठाउँदै आएको ‘राइट टु रिकल’ (जनप्रतिनिधि फिर्ता बोलाउन पाउने अधिकार) सम्बन्धी दस्ताबेज निर्माण गरी कानुनी तथा राजनीतिक खाका तयार पार्ने विषयलाई पनि बैठकको एजेण्डा बनाइएको छ।
यसैगरी, बैठकले पार्टीभित्र रिक्त रहेका तथा थप गर्नुपर्ने विभिन्न साङ्गठनिक पदहरूमा मनोनयन गर्नेछ। जसमा केन्द्रीय समिति सदस्य, पदाधिकारी,सचिवालय सदस्यहरूको मनोनयन, विभिन्न विभागीय प्रमुखहरूको जिम्मेवारी बाँडफाँट र स्थानीय निर्वाचनका लागि ’केन्द्रीय उम्मेदवार छनोट समिति’ को गठन तथा सदस्य मनोनयन समावेश छन्।
स्थानीय तहमा उम्मेदवार छनोटको विधिबारे तल्लो तहका नेता–कार्यकर्ताहरूलाई स्पष्ट पार्न केन्द्रीय सदस्य र सांसदहरूको नेतृत्वमा देशव्यापी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ। यसबाहेक पार्टीका आधिकारिक धारणा र साङ्गठनिक गतिविधिहरू सार्वजनिक गर्न ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णय पनि बैठकबाट हुने जनाइएको छ।