काठमाडौँ- राजनीतिक विश्लेषक मुमाराम खनालले समाजवादको बारेमा राजनीतिक दलहरूले गलत व्याख्या गरिरहेको दाबी गरेका छन्।
रत्नराज्य क्याम्पस (आरआर)मा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले शुक्रबार आयोजना गरेको ‘समाजवाद के हो र समाजवाद कसरी आउँछ?’ विषयक प्राज्ञिक छलफल कार्यक्रममा खनालले यस्तो दाबी गरेका हुन्।
राजनीतिक दलहरूले समाजवादमा जाने आधार तयार नगरिकनै समाजवादलाई राजनीतिक एजेन्डा बनाएको खनालको भनाइ छ। ‘रेसम फिरिरी...’ गीत गाएजस्तै राजनीतिक दलहरूले समाजवाद ! समाजवाद !! भनिरहेका छन्, यसरी त समाजवाद आउँदैन नि !
समाजवाद के हो ?
खनालका अनुसार जब सामाजिक श्रम बढ्दै जान्छ तब त्यो बढ्दै गएको सामाजिक श्रम सामाजिक स्वामित्व केन्द्रीकरणमा परिणत हुन्छ। त्यसपछि थोरैभन्दा थोरै मानिसले त्यो स्वामित्व ग्रहरण गर्दै जान्छन्। सामाजिक श्रम र सामाजिक स्वामित्वको बीचमा रहने उत्पादन सम्बन्ध क्रस हुने विन्दु समाजवाद हो।
पूँजीवादी व्यवस्थाअन्तर्गत सामाजिक श्रम र सामाजिक स्वामित्वबीचको अन्तरविरोध जहाँ क्रस हुन्छ, त्यहाँनेर समाजवाद जन्मिन्छ।
समाजवादको व्याख्या
– उत्पादनका साधन
– उत्पादक शक्ति
– उत्पादन प्रणाली
– उत्पादन सम्बन्ध
सामाजिक श्रम बढ्दै जान्छ। त्यसबाट उत्पादित स्वामित्व लिनका लागि केही मानिस केन्द्रित हुँदै जान्छन्। उनीहरूलाई श्रमिकहरूको श्रमबाट नाफा आउँदै जान्छ। नाफाको चरम् विन्दुमा सामाजिक श्रम ध्वस्त हुन्छ।
सामाजिक स्वामित्व केही मानिसमा संकेन्द्रित हुन्छ। जसले श्रम गरिरहेको हुन्छ, त्यो शोषणमा पर्दै जान्छ। स्वामित्व लिने धनी बन्छ, श्रम गर्ने तन्नम हुन्छ। यसरी क्रमशः सामाजिक श्रम र सामाजिक स्वामित्वबीचको सम्बन्ध बिग्रिँदै जान्छ।
धेरै मानिसको श्रममाथि केही मानिसले ग्रहरण गरिरहेको सामाजिक स्वामित्वको विभाजन भएपछि समाजवाद आउँछ। श्रमिकले सामाजिक स्वामित्व ग्रहण गर्ने विन्दु समाजवाद हो। उत्पादनका साधन र उत्पादक शक्ति मिलर बनेको सामाजिक श्रमलाई सामाजिक स्वामित्वले धान्न सक्तैन, त्यहाँनेर सम्बन्ध चुँडिन्छ। त्यहीँनेर समाजवादको जन्म हुन्छ।
माथि उल्लिखित पक्ष सामाजिक अवस्था हुन्। समाजवाद सामाजिक अवस्था परिवर्तनले मात्रै आउँदैन। समाजवाद आउनका लागि सामाजिक व्यवस्थामा आमूल परिवर्तन हुनुपर्छ। जस्तै:
– शिक्षा
– स्वास्थ्य
– सामाजिक सुरक्षा
– आवास
पहिलो कुरा व्यक्तिगत स्वामित्वलाई सामाजिक स्वामित्व प्रदान गर्न सकिन्छ कि सकिँदैन भन्ने चिन्तन विश्वचर्चित विद्वान् हेगल, फारवाखलगायतले गरेको इतिहास छ। हाम्रो देशमा यसका बारेमा कुनै बहस भएको छ? पहिले घरको एक कोठामा स्कूल खोल्ने र पछि सांसद बनेर ऐन बनाएपछि समाजवाद आउछ?
हाम्रो नेपालमा अझै कति ठाउँमा दासयुग बाँकी छ। कतै निरंकुशता बाँकी छ। कतै दमन छ। कतै छुवाछूत छ। हाम्रो देश निक्कै वर्ष अघिदेखि फ्रिजमा राखिएको तरकारीजस्तै छ। विगत ३० वर्षदेखि समाज फ्रिजमा राखिएको तरकारीजस्तै छ।
अक्स्फोर्ड विश्वविद्यालय खुलेको १ हजार वर्ष र हार्बड विश्वविद्यालय खुलेको ४ सय वर्ष भयो। तर, हाम्रो त्रिभुवन विश्वविद्यालय स्थापना भएको जम्मा ६०/७० वर्ष भयो।
यसरी भन्दै गर्दा शिक्षा मात्रै समाजवाद हासिल हुने तत्त्व हो भन्ने अर्थ होइन। समाजवादका लागि सचेतना पनि आवश्यक हुन्छ। सचेतना मात्रैले पनि समाजवाद आउँदैन।
राजनीतिक पार्टीले भनेर समाजवाद आउँदैन
कुनै राजनीतिक दल या नेताले भनेर मात्रै समाजवाद आउने होइन। समाजको अवस्था के छ? सामाजिक अवस्थालाई परिवर्तन गर्न के के पहल भइरहेका छन्?
सगरमाथा चढ्न सबैलाई रहर हुन्छ तर सगरमाथा चढ्न सजिलो छ र ! पार्टीको दस्तावेज हेरेर हामीले समाजवाद बुझ्दैनौँ। झन् अल्मलिन्छौँ। किनकी उनीहरूको दस्तावेजमा लेखिएको समाजवाद र वास्तविक समाजवादको यात्रा एकदमै फरक छ।
अर्को कुरा, जबसम्म उत्पादनका साधन र उत्पादक शक्तिलाई खेल्ने ठाउँ मिल्छ, तबसम्म त्यहाँ पूँजीवाद भत्किँदैन। पूँजीवाद नभत्किए समाजवाद आउँदैन। अहिलेका राजनीतिक दलहरूले यो पक्षलाई छोएकै छैनन्, कसरी समाजवाद आउँछ? त्यसैले समाजवाद भनिरहेका पार्टीको पछि सचेत वर्ग नलागौँ भन्ने मेरो तर्क हो।
यसरी हचुवाका भरमा समाजवाद घोषणा गर्नु भनेको ९ महिना अगाडि नै जबर्जस्ती बच्चा जन्माउँछु भन्नु हो। अपवादबाहेक समयअगावै पनि बच्चा जन्मिएला तर बाँच्दैन, अर्थात् बच्चा कमजोरीरहित जन्मिँदैन।
नेपालमा हाल व्याख्या गरिएको समाजवादले लूटतन्त्रको जन्म दिन्छ। जुन कुरा पुँजीवादमा पनि भएको थिएन। अन्तरिक्षमा पुग्नु छ भने मोटरसाइकलको विकास गरेको छु भनेर हुन्छ? रकेटको आविष्कार गर्नुपर्दैन? साइकल चढेर अन्तरिक्षमा पुग्न सकिँदैन।
समाजवादका अनेक रूप छन्। जस्तैः प्रजातान्त्रिक समाजवाद, कम्युनिष्टहरूको समाजवाद र वैदिक समाजवाद। माओवादीको भाटे कारबाही। यी कुनै पनि बाटोबाट समाजवाद सम्भव छ।
तर, बाटो कुन सहज छ? कुन असहज छ? कसरी समाजवादमा जाने? किन जाने? कहिलेसम्म पुग्ने? त्यसको व्याख्या आजको आवश्यकता हो भन्ने मलाई लाग्छ। मानव समाज विकासका विभिन्न चरणको मिहिन व्याख्या गर्दै विश्लेषक खनालले सामन्ती व्यवस्थामा श्रमको विभाजन भएको बताए।
अहिले विश्वको ९५ प्रतिशत पूँजी ५ प्रतिशत मान्छेको हातमा रहेको उनले उल्लेख गरेका छन्। कार्यक्रममा आरआर क्याम्पस, राजनीतिक शास्त्र विभाग प्रमुख भेषराज घिमिरेले समाजावादको लक्ष्यमा पुग्ने बाटाहरू, सम्भावना र चुनौतीलाई जानकार व्यक्तिहरूले बहसको विषय बनाउनुपर्ने धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन इश्वरी पन्तले गरेका थिए भने संयोजन नरेन्द्र खतिवडाले गरेका थिए।