काठमाडौँ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले सवारी दुर्घटना न्यूनीकरण, सडक सुशासन र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने उद्देश्यले यातायात व्यवसायीहरूसँग विशेष छलफल तथा अन्तरक्रिया गरेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको सभाहलमा आयोजित उक्त कार्यक्रममा कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न बस तथा ट्रक व्यवसायी संघका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा सहभागी यातायात व्यवसायीहरूले सवारी दुर्घटनाका चुनौतीहरू र ट्राफिक प्रहरीको भूमिकाका सम्बन्धमा आफ्ना महत्त्वपूर्ण जिज्ञासा तथा गुनासोहरू राखेका थिए । व्यवसायीहरूका कुरा सुन्दै प्रदेश प्रहरी प्रमुख रानाले सवारी दुर्घटना न्यूनीकरण र सडक सुशासन कायम गर्न ट्राफिक प्रहरीको मात्र नभई यातायात व्यवसायी, यातायात कार्यालय र सडक विभाग जस्ता सबै सरोकारवाला निकायहरूको उत्तिकै जिम्मेवारी रहेको बताएका छन्।
उनले सबै क्षेत्रको प्रभावकारी समन्वय र सहकार्यबाट मात्र सडक सुरक्षा सम्भव हुनेमा जोड विषयमा जोड दिएका थिए साथै, व्यवसायीहरूले उठाएका विषयहरूलाई सम्बोधन गर्न आगामी दिनमा ठोस कार्ययोजना बनाएर सुधारका कामहरू अघि बढाइने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
सोही अवसरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक प्रेम बहादुर शाहीले सुदूरपश्चिम प्रदेशको हालको ट्राफिक व्यवस्थापन र सवारी दुर्घटनाको अवस्थाबारे विस्तृत जानकारी दिएका थिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक पदम बहादुर विष्ट लगायत सिनियर प्रहरी अधिकृतहरू र कैलाली तथा कञ्चनपुर जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।