काठमाडौँ – गाउँका किसान र हलिया धेरै परिश्रम गर्थे। तर, त्यसवापत केही पाउँदैनथे। यतिसम्म कि, उनीहरू कति रुपैयाँ भनेर छुट्याउन सक्दैनथे वा रुपैयाँ चिन्दैनथे। एक परिवार त यस्तो पनि थियो कि, त्यो परिवारलाई गाउँका अधिकांश मानिसले खेतको काम गराउँथे, काम गरेवापत पैसाको साटो एकछाक खान दिएर भुलाउँथे, टार्थे।
विसं २०४४ मा धादिङको गल्छीबेँसी गाउँपालिकामा जन्मेका राजन थापा (सुवास)ले त्यो परिवारको दयनीय अवस्था नियालिरहेका थिए। उनले बालावयमा पनि त्यो परिवारमाथि भएको अन्यायविरुद्ध बोल्ने साहस जुटाए। सानैदेखि हलिया प्रथाको विरोध गर्न थालेका राजनको एउटै माग थियो, हलियालाई काम गरेवापत दैनिक ज्याला दिनुपर्छ।
काम गरेवापत हलियालाई एकछाक खान दिइन्थ्यो। त्यसलाई उनी ठूलो अन्याय ठान्थे। ‘परिश्रम लुटेको ठान्थेँ,’ उनी सम्झन्छन्, ‘त्यो मलाई असह्य हुन्थ्यो, त्यसैले मैले विद्रोहको आवाज बोलेँ।’
यसरी नै शुरु भएको उनको विद्रोह समाज हुँदै देशमा पुग्यो, माओवादी जनयुद्धबाट। तर, अधिकारका लागि छातीमा गोली थाप्न उनी तयार भए। तर, अहिले आफूमाथि भएको अन्यायविरुद्ध लडिरहेका छन् उनै योद्धा। बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिका महासचिव राजनको संघर्षको कथा यसरी शुरु हुन्छ।
जनयुद्ध लडेका बालसेना
विसं २०६० सालतिरको कुरा हो। त्यतिबेला नेपालमा माओवादी जनयुद्ध चलिरहेको थियो। गाउँमा अन्यायका विरुद्ध बोल्दा उनीमाथि माओवादीको बिल्ला भिराइयो।
कोही सामन्तले उनलाई माओवादी करार गरी राज्यलाई सुराकी लगाउन थाले। ‘जो गाउँका सोझा हलियाको श्रमशोषण गर्न पल्किएका थिए, ती सामन्तले अन्यायका विरुद्ध बोल्दा, मजदूर किसानका विरुद्ध बोल्दा राज्यलाई सुराकी लगाएर माओवादीका जान बाध्य बनाए।’
राजन विसं २०६० मा गाउँकै कुल्लेरी माध्यमिक विद्यालयमा कक्षा ७ पढ्थे र उनी त्यतिबेला १६ वर्षका थिए। विद्यालयमा हरेक दिन माओवादीका सांस्कृतिक कार्यक्रम हुन्थे। माओवादीको आउजाउ पनि भइरहन्थ्यो।
अन्यायका विरुद्ध आवाज उठाउने राजनलाई माओवादीको एजेन्डा मन पर्यो। उनीहरूको उद्देश्य पनि राम्रो लाग्यो। गाउँलेले माओवादीको बिल्ला लगाइदिएपछि उनलाई बाध्यता नै थियो– माओवादीमा जानुपर्ने।
गाउँलेले उनलाई माओवादी भन्न थालेको जानकारी माओवादीका जनमुक्ति सेनाले पनि पाइसकेका थिए। त्यसपछि उनको सम्पर्क त्यतिबेला पश्चिम कमान्डर ‘विद्रोही’सँग भयो। विद्रोहीसँगको कुराकानीपछि उनी परिवर्तनका लागि झोलामा कापी कलम बोकेर विद्यालय जानुपर्ने समयमा काँधमा बन्दुक बोक्न जङ्गल जाने निधो गरे।
गाउँलेले राजनलाई माओवादी भन्न थालेपछि उनका बुवा (वीरबहादुर थापामगर र दाजु पनि त्यसको विरोधमा थिए। ‘परिवर्तन र अन्यायका विरुद्ध माओवादीमा जाने प्रस्तावमा बुवा र दाजुले पनि सहमति जनाउनु भएको थियो,’ उनले भने। अन्ततः उनी २०६० सालको अन्त्यतिर माओवादी जनयुद्धमा होमिए र जनमुक्ति सेना भए।
त्यतिबेला उनलाई अरू केही थाहा थिएन। माओवादीका शीर्ष नेता चिनेका थिएनन्। माओवादी द्वन्द्वको उद्देश्य पनि थाहा थिएन, अन्याय र अत्याचारका विरुद्ध लड्न जाँदैछु भन्ने मात्रै थाहा थियो।
जनयुद्धमा प्रवेश
जनमुक्ति सेनामा प्रवेश गरेपछि राजनलाई पाल्पा, तानसेन लगायतका ठाउँमा लगियो। त्यतै उनले ८ महिनासम्म तालिम लिए र बन्दुक चलाउन सिके।
राजन त्यतिबेला १६ वर्षका मात्र थिए। त्यसकारण उनलाई शुरुमा युद्धमा लगाइएन, सूचना आदानप्रदान (सुराकी)को काममा लगाइएको थियो। ‘जनमुक्ति सेनामा प्रवेश गरेपछि शुरुका ८ महिनासम्म तालिमसँगै बन्दुक चलाउन सिकाइयो, त्योभन्दा अगाडि सुराकीको काममा लाग्थेँ, म सानै भएका कारण मैले युद्धमा जानु परेन,’ उनले भने।
सेनासँग लड्दा...
तत्कालीन माओवादीको जनमुक्ति सेनामा ३ वर्ष रहँदा राजन तीन ठाउँका युद्धमा प्रत्यक्ष सहभागीसमेत भएका छन्। धादिङ राजमार्गको कृष्णभीर, बुटवलको सुनौल र पाल्पाको तानसेनमा भएको युद्धमा उनी सहभागी भएका थिए।
‘सेनासँग लड्नु धेरै जोखिम हो। तर, परिवर्तनका लागि युद्धमा होमिएपछि त्यस्तो अनुभव हुँदैन। एउटै उद्देश्य हुन्छ– दुस्मन (सरकारी सेना) मार्ने, नसके मर्ने।’ उनी भन्छन्, ‘ती दिनहरू कहालिलाग्दा थिए।’
बुटवलमा भएको लडाइँमा उनको एउटा साथीको आँखै अगाडि मृत्यु भएको थियो। उनलाई त्यो घटना अझै ताजा छ। त्यस्तै पाल्पाको तानसेनमा भएको लडाइँमा त उनी भाग्यले बाँचेका थिए। उनलाई त्यहाँ गाउँलेले बचाएका थिए।
सेनालाई थाहा थियो, माओवादी त्यो गाउँमा छन् भन्ने। राजनलगायत १५ जना जनमुक्ति सेना उक्त गाउँमा थिए। सेनाले उक्त गाउँलाई चारैतिरबाट घेरा हालेर आफ्नो नियन्त्रणमा लिइसकेको थियो। ती दिन सम्झँदै राजन भन्छन्, ‘मलाई गाउँलेले धानको भकारीमा लुकाएर बचाए, नत्र...।’
उनका अन्य १५–२० जना साथीलाई पनि गाउँलेले बचाएका थिए। कसैलाई गाउँलेले आफ्ना लुगा लगाएर खेतमा काम गर्न लगाएर त कसैलाई आफ्नो छोरो भनेर मृत्युको मुखबाट बचाएका थिए।
जव विस्तृत शान्ति सम्झौता भयो...
दश वर्षभन्दा लामो नेपाली गृहयुद्धलाई अन्त्य गरेको घोषणा गर्दै नेपाल सरकार र नेकपा (माओबादी)बीच विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भयो। सम्झौताले नेकपा (माओवादी)लाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको थियो।
त्यसपछि सेना समायोजन शुरु भयो। जसमा थापासँगै ४ हजार ९ जनमुक्ति सेनालाई अयोग्य घोषणा गरियो। ‘हामीलाई अयोग्य घोषणा गरिँदा तौल, उचाइ, मोटाइ लगायतका मापदण्ड केही बनाइएको थिएन।’
उनले आक्रोश पोख्दै भने, ‘बुवाआमाको नाम, गाउँ, ठाउँ लगायतका प्रश्न सोधिएको थियो। खै कुन कुरामा अयोग्य देखेर अयोग्य घोषणा गरियो? थाहा छैन।’
उनी दुखेसो पोख्छन्, ‘कापी, कलम र झोला बोक्नुपर्ने बेलामा परिवर्तनका लागि बन्दुक बोकेर जङ्गलतिर लागेको थिएँ। जुन उद्देश्य पूरा पनि भयो तर सेना समायोजनका नाममा योगदानलाई बिर्सेर कथित ‘अयोग्य लडाकु’को बिल्ला भिराएर फर्काइदिए।’
उनी प्रश्न गर्छन्, ‘युद्ध लडेर ठूला नेतालाई कुर्सीमा पुर्याउँदासम्म हामी योग्य, अनि कुर्सीमा पुर्याइसकेपछि कसरी अयोग्य?’ अयोग्य भन्दै राजनलगायत ४ हजार ९ जना जनमुक्ति सेनालाई शिविरबाट निकालिएको थियो। त्यतिबेला प्रधानमन्त्रीमा माधवकुमार नेपाल थिए।
सो क्रममा उनीहरूले ३ महिनासम्म शिविरिभित्रै आन्दोलन पनि गरेका थिए। तर, कसैले केही नसुनेपछि अन्तत: अयोग्य घोषणा गरिएका उनीलगायत अन्य जनमुक्ति सेना घर फर्किए।
योग्य भएर गए, अयोग्य भएर फर्किए
सेना समायोजनका नाममा संविधान लेखन प्रक्रिया र शान्ति प्रक्रिया अवरुद्ध भयो। उनीहरूलाई त्यसको बाधक बनेको आरोप पनि लगाइन थालियो।
उनीहरू ‘अयोग्य लडाकु’ बनाएको भन्दै ३ महिनासम्म आन्दोलन गर्दै थिए। संविधान लेखन प्रक्रिया र शान्ति प्रक्रियामा बाधक नबन्ने भन्दै अन्तत: ‘अयोग्य लडाकु’ घोषणा गरिएका शिविरबाट फिर्ता हुन सहमत भए। त्योसँगै योग्य भन्दै जनमुक्ति सेनामा गएका राजनलगायत ४ हजार बढी जनमुक्ति सेना समाजमा अयोग्य लडाकु भएर फर्किए।
उनी भन्छन्, ‘योग्य लडाकु भनेर जनमुक्ति सेनामा गएको तर अयोग्य भएर फर्किनुपर्दा साह्रो नराम्रो लाग्यो। समाजमा फर्किंदा अपमानित महसूस भयो। अहिले पनि भइरहेको छ।’
सरकारले उनीहरूलाई आर्थिक प्याकेजसहित बिदाइ गर्ने भनेको थियो। तर, तत्कालीन माओवादीका अध्यक्ष (हाल नेकपा अध्यक्ष) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफै व्यवस्थापन गर्ने भनेका कारण उक्त आर्थिक प्याकेज पनि नपाएको उनको गुनासो छ।
उनीहरूलाई गाडी भाडावापतको १० हजार र एक–एकवटा झोला दिएर ‘अयोग्य लडाकु’को बिल्ला भिराएर घर फर्काइएको थियो।
अयोग्य घोषणा गरिएका पूर्वमाओवादी लडाकुलाई डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला २ लाख रुपैयाँ दिने घोषणा गरिएको थियो। उक्त विषयमा मुद्दा परेपछि उक्त रकम पनि उनीहरूले पाउन सकेनन्।
फेरि केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा बजेटमै अयोग्य घोषणा गरिएका पूर्वलडाकुलाई आर्थिक प्याकेजको व्यवस्था गरिएको भए पनि त्यतिबेला फेरि मुद्दा प¥यो। उक्त मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ।
कार्यान्वयन नभएका दर्जनौँ सम्झौता
अयोग्य भन्दै शिविरबाट निकालिएकाहरूले २०६८ सालमा बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समिति गठन गरे। हाल उक्त समितिमा महासचिव छन् राजन। समिति गठनपछि अहिलेसम्म न्यायका लागि आन्दोलन गरिरहेको उनी बताउँछन्।
बहिर्गमित सेनालाई घोषित ‘अयोग्य लडाकु’ शब्द खारेज गर्नुपर्ने, एकमुष्ट आर्थिक प्याकेजको व्यवस्था गर्नुपर्ने लगायतका उनीहरूको मुख्य माग छ। उनीहरू ती माग राख्दै अझै पनि आन्दोलनरत छन्। हालसम्म दर्जनाैँ पटक उनीहरूले आन्दोलन गरिसकेका छन् भने सरकारी पक्षसँग वार्ता भएर सम्झौता पनि भएका छन् तर कार्यान्वयन भएका छैनन्।
पम्फा भुसाल शान्तिमन्त्री हुँदा २०६८ साल भदौ २२ गते छबुँदे सम्झौता भएको थियो तर कार्यान्वयन नभएपछि उनीहरू फेरि आन्दोलित हुन बाध्य भएका थिए।
गत असोजमा सरकारले गठन गरेको सोमप्रसाद पाण्डे नेतृत्वको राजनीतिक वार्ता समितिले पनि बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिलाई वार्ताका लागि बोलाएको थियो। तर, उक्त समितिले बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिका माग आफूहरूले पूरा गर्न नसक्ने र त्यसका लागि उच्च तहबाटै छलफल गर्न सुझाव दियो।
त्यसपछि गृह मन्त्रालयमा छलफल भए पनि कुनै निष्कर्ष भने निस्केन। अयोग्य घोषणा गरिएपछि विभिन्न चरणमा सरकार पक्षसँग वार्ता भएका छन् तर निष्कर्ष भने निस्कन सकेको छैन।
बन्दुक चलाउने मात्रै सीप छ, कसरी बाँच्ने?
अयोग्य भन्दै राज्यले शिविरबाट फर्काएका पूर्वमाओवादी लडाकुको वर्तमान अवस्था कहालिलाग्दो छ। अयोग्य भन्दै राज्यले शिविरबाट फर्काएका पूर्वमाओवादी लडाकु केही जनाले त्यतिबेलै आत्महत्या गरेको राजन बताउँछन्। समाजमा पुन:स्थापित हुने वातावरण नभएपछि उनीहरू आत्महत्या गर्न बाध्य भएको उनी दाबी गर्छन्।
केही महिनाअघि गृहमन्त्री रामबहादुर थापाकै अगाडि एक जना पूर्वलडाकुले विष सेवन गरेको पनि उनले बताए। उनी भन्छन्, ‘राज्यले बेवास्ता गरेपछि पूर्वलडाकुको अवस्था बेहाल छ। पढ्ने बेलामा बन्दुक मात्रै चलाउन सिकाइयो। अरू केही सीप छैन। कसरी जीविकोपार्जन गर्ने?’
तत्कालीन माओवादी लडाकुको शिविरमै उनको कल्पना थापासँग माया बसेको थिए। बहिर्गमनपछि उनले २०६४ सालमा बिहे गरेका थिए। हाल उनको एक छोरा छ– आयुष। तर, परिवार पाल्न धौँ–धौँ परिरहेको थापाको गुनासो छ।
राज्यले फेरि द्वन्द्व नै चाहेको हो त?
बेलाबेलामा भएका सम्झौता कार्यान्वयन नहुँदा उनीहरू अझै आन्दोलनमा छन्। पूर्वलडाकुका समस्या चाँडो समाधान गर्नुपर्ने राजन बताउँछन्।
‘हामी धेरै आन्दोलन गर्ने पक्षमा छैनौँ। द्वन्द्वबाट उत्पन्न समस्याको समाधान द्वन्द्वबाटै हुँदैन,’ उनीहरू सरकार पक्षलाई चेतावनी दिँदै भन्छन्, ‘द्वन्द्वबाट उत्पन्न समस्याको समाधान नभएसम्म शान्ति प्रक्रियाले पनि पूर्णता पाउँदैन। त्यसैले हाम्रो समस्या समाधान गर्न नलागेर के राज्यले फेरि पहिलेको जस्तै द्वन्द्व नै चाहेको हो त?’
‘द्वन्द्वकालमा सिकेको सीपको दुरुपयोग गर्न नपरोस्’
बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिले आफ्ना माग पूरा गराउन अहिलेसम्म शान्तिपूर्ण आन्दोलन गर्दै आएको छ। सरकार अझै पनि आफ्ना माग पूरा गर्न अग्रसर नदेखिए उसले कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।
अयोग्य घोषणा गरिएका ४ हजार ९ जनमुक्ति सेनामध्ये अधिकांश उक्त समितिमै आबद्ध छन्। केन्द्रका सम्पूर्ण सरोकारवालालाई आफ्ना मागबारे समितिले जानकारी गराइसकेकोे छ। अब आफ्ना मागबारे प्रदेश सरकारलाई पनि जानकारी गराइने उक्त समितिका महासचिव थापाले बताए।
त्यसपछि ७७ वटै जिल्लामा प्रदर्शन गर्ने तयारी उनीहरूको छ। त्यति गर्दा पनि आफ्नो मागको सुनवाइ नभए त्यसपछि निर्णायक आन्दोलनमा उत्रिने थापाले चेतावनी दिए।
उनी भन्छन्, ‘त्यो बेलाको आन्दोलन कुर्सीका लागि थिएन। तर, अहिले त्यस्तो देखियो। हामीलाई अयोग्यको बिल्ला भिराएर फर्काइयो।’ अब उनीहरूको मुख्य टार्गेट तत्कालीन माओवादीका शीर्ष नेताहरू हुनेछन्, जसले बन्दुक चलाउन सिकाएर युद्धमा होमे र युद्ध सकिएपछि अयोग्य भन्दै घर फर्काइदिए।
उनीहरूको योगदानकै कारण जुनयुद्धका कमान्डर प्रचण्ड र डा. भट्टराई प्रधानमन्त्री भइसकेका छन्। उनीहरूसँगै युद्ध लडेका तत्कालीन माओवादी नेताहरू प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख, मन्त्रीसम्म भइसके।
अहिले तत्कालीन माओवादी (हाल नेकपा)कै दुई तिहाइको सरकार छ र प्रचण्ड उक्त पार्टीको अध्यक्ष पनि छन्। प्रचण्डले चाहेमा आफूहरूका माग सहजै पूरा हुने थापा दाबी गर्छन्। उनी भन्छन्, ‘द्वन्द्वकालमा अरू सीप सिकाएनन्। बन्दुक चलाउन मात्रै सिकाए। अब माग पूरा नभए जे सीप हामीले सिकेका छौँ, त्यसको दुरुपयोग गर्नु नपरोस्।’
आफूहरूमाथि राज्यले दमन गरेर, बल प्रयोग गरेर समस्याको समाधान नहुने उनी बताउँछन्। ‘हामीले आन्दोलन गर्दा राज्यले सधैँ बल प्रयोग गर्छ। मुडभेड गर्न खोज्छ। त्यो समाधान होइन, गलत सोचाइ हो। अब पनि राज्यले त्यस्तो व्यवहार गरे त्यसको जवाफ डटेर दिन्छौँ।’
उनी चेतावनी दिन्छन्, ‘दुस्मनबाट बचाएर माओवादीका शीर्ष नेतालाई ठूलाठूला पदमा पुर्यायौँ। अहिले हाम्रो योगदान बिर्संदै सत्तामा रमाइरहेका छन्। उनीहरूकै विरुद्ध लड्नु आफैमा ‘विडम्बना’ हुनेछ।’