काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि पन्तले नेपालको भूमि कुनै पनि छिमेकी मुलुकको हितविरुद्ध प्रयोग हुन नदिने नेपालको परम्परागत राष्ट्रनीतिप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन्।
वीरगञ्जमा आइतबार साँझ आयोजित ‘वन्दे मातरम्’को १५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष सांगीतिक कार्यक्रममा सम्बोधन गर्दै सांसद पन्तले यस्तो धारणा राखेका हुन्। उनले रास्वपा नेतृत्वको सरकारले छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्धलाई राजनीतिक स्वार्थका रूपमा प्रयोग गर्ने प्रवृत्तिमा विश्वास नगर्ने स्पष्ट पारे। सरकार ‘चाइना कार्ड’ र ‘इन्डिया कार्ड’को राजनीतिभन्दा माथि रहेर परराष्ट्र सम्बन्ध सञ्चालन गर्ने पक्षमा रहेको उनको भनाइ थियो।
पन्तले नेपाल र भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए। दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजानुपर्ने उनले बताए। सम्बोधनका क्रममा उनले भारतको विरोध गरेकै आधारमा आफू वा आफ्नो दललाई राष्ट्रवादी कित्तामा उभ्याउने राजनीतिक प्रवृत्ति क्रमशः अन्त्य हुँदै गएको धारणा राखे। उनले नेपाल र भारतबीचको सम्बन्ध केवल कूटनीतिक तहमा मात्र सीमित नरहेको उल्लेख गर्दै दशैँ, दीपावली, छठ र होलीजस्ता साझा चाडपर्व, धार्मिक आस्था, परम्परा तथा पारिवारिक सम्बन्धले दुई देशका नागरिकबीचको आत्मीयता र मित्रतालाई थप बलियो बनाउँदै आएको बताए।