काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा देशका अधिकांश स्थानको मौसम आंशिक रूपमा बद्ली भएको छ।
मौसममा आएको परिवर्तनसँगै केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल दार्चुला, बझाङ र हुम्लाका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ। सोमबार देशका विभिन्न भूभागमा आंशिक बद्ली रहने अनुमान गरिएको छ। विशेषगरी हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, लुम्बिनी प्रदेशको तराई क्षेत्रमा समेत एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ।
यसैबीच, बंगालको खाडीमा विकसित चक्रवात ‘मुरासु’बारे पनि महाशाखाले विशेष मौसम बुलेटिन जारी गरेको छ। उक्त चक्रवातका कारण नेपालमा तत्काल उल्लेखनीय मौसमी प्रभाव पर्ने सम्भावना नरहेको महाशाखाको आकलन छ। मौसम मोडल तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्कको विश्लेषणअनुसार आइतबार बिहान ११ः४५ बजे दक्षिणपश्चिम तथा मध्यपश्चिम बंगालको खाडी आसपास चक्रवाती प्रणाली विकसित भएको हो।
उक्त प्रणाली सोमबार मध्यपश्चिम बंगालको खाडीमा थप शक्तिशाली चक्रवाती आँधीमा परिणत हुन सक्ने अनुमान गरिएको छ। त्यसपछि पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै कात्तिक १७ गते भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रअन्तर्गत नेल्लौर र नरसापुरबीचको भूभागबाट शक्तिशाली आँधीका रूपमा जमिनमा प्रवेश गर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।