काठमाडौँ । पश्चिम नेपाल आसपास विकसित न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएपछि देशको मौसममा क्रमिक सुधार आउने देखिएको छ।
हाल माथिल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ भने अन्य भूभागमा आंशिक बदली रहेको छ।आज दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।
त्यस्तै, आज राति पनि देशका अधिकांश भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा भने बिहानको समयमा केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। यसैगरी, सोमबार बिहान र दिउँसो पनि देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। सोमबार राति भने गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।