काठमाडौं ।अमेरिकाले राष्ट्रिय सुरक्षालाई आधार बनाउँदै चिनियाँ दूरसञ्चार कम्पनीहरूको अमेरिकी फोन नम्बरमा हुने प्रत्यक्ष पहुँच बन्द गर्ने तयारी गरेको छ।
यससम्बन्धी प्रस्तावमाथि अमेरिकी संघीय सञ्चार आयोग एफसीसी ले आगामी नोभेम्बर १९ मा निर्णयका लागि मतदान गर्ने भएको छ।प्रस्ताव स्वीकृत भए चाइना मोबाइल, चाइना टेलिकम र चाइना युनिकमलगायत चिनियाँ दूरसञ्चार सेवा प्रदायकले अमेरिकी फोन नम्बरमा प्रत्यक्ष पहुँच पाउने छैनन्।अमेरिकी अधिकारीहरूले यो कदमलाई दूरसञ्चार क्षेत्रमा हुने ठगी, अवैध स्वचालित फोन कल तथा साइबर जोखिम नियन्त्रण गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्। दूरसञ्चार पूर्वाधारको सुरक्षा मजबुत बनाउने उद्देश्यले चिनियाँ कम्पनीमाथि थप कडाइ गर्ने तयारी भइरहेको बताइएको छ।
यसका अतिरिक्त चिनियाँ दूरसञ्चार कम्पनीलाई अमेरिकी सञ्जालमा जोडिन तथा अमेरिकाभित्र डेटा केन्द्र सञ्चालन गर्न रोक लगाउने विषयमा पनि छलफल भइरहेको छ। हुवावे र जेडटीईजस्ता राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण मानिएका कम्पनीका उपकरण प्रयोग गर्ने सेवा प्रदायकमाथि समेत प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारिएको छ।अमेरिकाले सन् २०२४ मा चिनियाँ राज्यसमर्थित ‘सल्ट टाइफुन’ नामक साइबर समूहले अमेरिकी दूरसञ्चार प्रणालीमा अनधिकृत प्रवेश गरी फोन रेकर्ड तथा सञ्चारसम्बन्धी विवरण चोरी गरेको आरोप लगाउँदै आएको छ।
तर चीनले भने साइबर आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै अमेरिकी आरोप अस्वीकार गर्दै आएको छ।