काठमाडौँ ।रौतहटमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार साँझ करिब ६ः३० बजे फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलको दुधिअवा–बालचनपुर सडकखण्डमा दुर्घटना भएको हो।दुधिअवाबाट बालचनपुरतर्फ गइरहेको ना।२ त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।दुर्घटनामा मोटरसाइकल चालक गुजरा नगरपालिका–४ पोखरभिन्डाका ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरी र मोटरसाइकलमा पछाडि सवार उनकी ३० वर्षीया श्रीमती निशा खड्का घाइते भएका थिए।
घाइते दुवैलाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा बिहीबार राति ८ः१० बजे चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए। उनकी श्रीमती खड्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।मृतक चौधरी बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत थिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिएका छन्।