काठमाडौँ । भुटानको गसा जिल्लास्थित लेम्थाङ क्षेत्रमा हिमताल फुटेपछि आएको भीषण बाढीले नदी आसपासका क्षेत्रमा जोखिम बढाएको छ।
मो छु नदी हुँदै बाढीको पानी सङ्कोश नदीतर्फ तीव्र गतिमा बग्न थालेपछि भारतको पश्चिम बङ्गाल प्रशासनले उत्तर बङ्गाल क्षेत्रमा उच्च सतर्कता अपनाएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रका १० हजारभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। उनीहरूलाई विद्यालय भवन तथा अन्य अस्थायी आश्रयस्थलमा राखिएको छ।भुटानको राष्ट्रिय सञ्चारमाध्यम भुटान ब्रोडकास्टिङ सर्भिस बीबीएस का अनुसार बाढीले गसा जिल्लाको प्रसिद्ध पर्यटकीय क्षेत्र गसा छाछुस्थित प्राकृतिक तातोपानीका संरचनामा क्षति पुर्याएको छ। रातिको समयमा आएको बाढीका कारण क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेको छैन। घटनामा हालसम्म मानवीय क्षति वा घाइते भएको विवरण सार्वजनिक भएको छैन।
बाढीको तीव्र बहावले दुईवटा बेली ब्रिजसमेत बगाएको आशङ्का गरिएको छ। भुटानी सञ्चारमाध्यम कुएनसेलका अनुसार लाया गाउँबाट तातोपानी क्षेत्रतर्फ जाने सडकका केही भाग बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।हिमताल फुटेको जानकारी पाएलगत्तै पश्चिम बङ्गाल प्रशासनले विपद् व्यवस्थापन संयन्त्र परिचालन गरेको थियो। सङ्कोश र यसका सहायक नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान तथा नदीको बहावबाट टाढा रहन आग्रह गरिएको छ।
दार्जिलिङका सांसद राजु बिष्टले सामाजिक सञ्जालमार्फत सङ्कोश नदी र यसका सहायक नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक परे तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्। उनले भुटानबाट मो छु नदी हुँदै सङ्कोश नदीतर्फ पानीको बहाव बढेकाले दार्जिलिङ र डुअर्स क्षेत्र जोखिममा पर्न सक्ने बताएका छन्।पश्चिम बङ्गालका राज्यमन्त्री निसिथ प्रामाणिकले नदी आसपासका बासिन्दालाई सचेत गराइएको र विपद् प्रतिकार्य टोली परिचालन गरिएको जानकारी दिएका छन्। बाढीको पानी केही घण्टाभित्र मैदानी क्षेत्रमा पुग्न सक्ने अनुमानपछि राज्य विपद् व्यवस्थापन टोली र राष्ट्रिय विपद् प्रतिक्रिया बल एनडीआरएफ लाई तयारी अवस्थामा राखिएको थियो।
अलिपुरद्वारका प्रहरी प्रमुख अमित कुमार शाहका अनुसार प्रभावित क्षेत्रको अवस्था प्रशासनको निगरानीमा छ। जिल्ला प्रशासनले भुटानी अधिकारी तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ। उद्धार तथा राहतका लागि राज्य विपद् प्रतिक्रिया बल एसडीआरएफ, एनडीआरएफ र नागरिक सुरक्षा टोली परिचालन गरिएको छ।प्रभावित बासिन्दाका लागि सञ्चालन गरिएका राहत शिविरमा सुक्खा खाना, पिउने पानी र शौचालयको व्यवस्था गरिएको छ। सङ्कोश नदी आसपासका क्षेत्रमा रेड अलर्ट जारी गर्दै प्रशासनले निरन्तर निगरानी गरिरहेको जनाएको छ।