काठमाडौँ । नेपालको पर्यटन, संस्कृति र मौलिक खानाको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले बेल्जियमको राजधानी ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा नेपाली परिकार सेलरोटी र छोइलासँगै नेपालको कला, संस्कृति र पर्यटकीय आकर्षणले सहभागीको ध्यान खिचेको छ। ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलङ्काका राजदूतावाससँगको सहकार्यमा ‘हिमाली शिखरदेखि समुद्री तटसम्म’ शीर्षकमा उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा युरोपेली सङ्घ तथा संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि, बेल्जियमस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधि, सञ्चारकर्मी र सहभागी देशका शुभेच्छुक गरी करिब एक सय जनाको उपस्थिति थियो।
कार्यक्रममा बेल्जियम, नेदरल्यान्ड्स र लग्जेम्बर्गका लागि नेपाली राजदूत सेवा लम्सालले नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, साहसिक पर्यटन, ऐतिहासिक सम्पदा तथा आरोग्य पर्यटनका सम्भावनाबारे जानकारी गराएकी थिइन्। नेपालले सन् २०२७ लाई अन्तर्राष्ट्रिय आरोग्य वर्षका रूपमा मनाउने तयारी गरिरहेको जानकारी दिँदै उनले सहभागीलाई नेपालको आध्यात्मिक तथा आरोग्य पर्यटनको अनुभव लिन आग्रह गरिन्।
कार्यक्रमका प्रमुख अतिथि युरोपेली बाह्य कार्य सेवाका उपमहानिर्देशक डोमिनिक पोर्टरले नेपालसहित दक्षिण एसियाली मुलुकसँग युरोपेली सङ्घको सहकार्यबारे चर्चा गर्दै दिगो पर्यटन प्रवर्द्धनको आवश्यकता औँल्याएका थिए। सो अवसरमा भुटानका राजदूत छोक्की छोडेन, श्रीलङ्काका राजदूत चन्दना वीरसेना र माल्दिभ्सका राजदूत उज्मा फतिमथ धियानाले आआफ्ना देशका पर्यटकीय विशेषता र आकर्षणबारे प्रस्तुति दिएका थिए।
औपचारिक कार्यक्रमपछि चारै देशको मौलिक संस्कृति झल्काउने सांस्कृतिक प्रस्तुति गरिएको थियो। नेपाली लाखे नाच र परम्परागत धिमे बाजाको प्रस्तुतिले सहभागीको विशेष ध्यान आकर्षित गरेको थियो। त्यसैगरी, चारै देशले आफ्ना पर्यटकीय गन्तव्य र उत्पादनको प्रचारप्रसारका लागि छुट्टाछुट्टै प्रदर्शनी कक्ष राखेका थिए। नेपाली कक्षमा पर्यटनसम्बन्धी पुस्तिका, पोस्टर, नक्सा, मिथिला कला, हस्तकलाका सामग्री, पश्मिना, चिया तथा कफीलगायत नेपाली उत्पादन प्रदर्शन गरिएको थियो। नेपालको पर्यटन झल्काउने श्रव्यदृश्य सामग्रीसमेत प्रस्तुत गरिएको थियो।
नेपाली प्रदर्शनी कक्षमा सहभागीले विशेष चासो देखाउँदै नेपालको भ्रमणका अवसर, पर्यटकीय गन्तव्य र पर्यटनसम्बन्धी सम्भावनाबारे दूतावासका प्रतिनिधिसँग जानकारी लिएका थिए। कार्यक्रममा चारै देशका परम्परागत खानाका परिकारसमेत प्रस्तुत गरिएको थियो। प्रत्येक देशले दुई–दुई प्रकारका परिकार राखेकामा नेपालका तर्फबाट सेलरोटी र छोइला प्रस्तुत गरिएको थियो। नेपाली स्वादका यी परिकार सहभागीले रुचाएका थिए।