काठमाडौँ । पश्चिमी वायु र बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण शुक्रबार देशभरको मौसम प्रभावित हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सातै प्रदेशमा बादल लाग्नुका साथै चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका अन्य भूभागमा पनि धेरै स्थानमा वर्षाको सम्भावना छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ। आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षासँगै हिमपातको सम्भावना रहेको छ।
आज राति पनि देशभर अधिकांश बदली रहनेछ। देशका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ भने केही स्थानमा भारी वर्षाको सम्भावना छ। यसैगरी, शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।