काठमाडौं । जलवायु परिवर्तनका कारण बढ्दै गएका जोखिम तथा प्राकृतिक विपद्बाट हुने क्षति कम गर्न नेपाल, भारत र चीनबीच क्षेत्रीय सहकार्य विस्तार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
भारतको नयाँदिल्लीमा आयोजित जलवायु जोखिम तथा विपद् न्यूनीकरणसम्बन्धी संवाद कार्यक्रममा सहभागी वक्ताहरूले जलवायु परिवर्तनका साझा चुनौती सामना गर्न छिमेकी मुलुकबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका हुन्।भारतस्थित नेपाली राजदूतावास र इनिसियटिभ्स अफ मिडिया विमेनको संयुक्त आयोजनामा भएको कार्यक्रममा भारतका लागि नेपालका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले विपद् जोखिम न्यूनीकरणका लागि वातावरणीय दिगोपनबारे क्षेत्रीय छलफललाई प्राथमिकता दिनुपर्ने बताए।
उनले हिमनदी पग्लिने तथा हिमाली क्षेत्रमा उत्पन्न हुने जोखिमबाट बच्न पूर्वतयारी र नेपाल, भारत तथा चीनबीचको सहकार्य महत्त्वपूर्ण रहेको उल्लेख गरे। साझा नदी प्रणालीको संरक्षण र दिगो व्यवस्थापनका लागि नेपाल र भारतले मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो।कार्यक्रममा भारतको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका पूर्वमहानिर्देशक डा। राजेन्द्र सिंहले प्राकृतिक विपद्ले राष्ट्रिय सीमाको ख्याल नगर्ने भएकाले प्रभावित मुलुकबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले भोटेकोशी बाढीबाट भएको क्षतिको प्रसङ्ग उल्लेख गर्दै समुदाय र बस्तीलाई सुरक्षित राख्न विपद् उत्थानशील विकासमा जोड दिए।
भारतको केन्द्रीय अनुसन्धान ब्युरोका पूर्वनिर्देशक डीआर कार्तिकेनले पनि विपद् व्यवस्थापनमा नेपाल र भारत दुवै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने धारणा राखे।त्यस्तै, पद्मश्री पुरस्कार विजेता डा। पोपटराव पवारले हिमाली क्षेत्रको संरक्षण र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताए।कार्यक्रममा इनिसियटिभ्स अफ मिडिया विमेनकी अध्यक्ष लक्ष्मी भण्डारी, वातावरण संरक्षण अभियन्ता तथा पद्मश्री पुरस्कार विजेता उमाकान्त पाण्डे, नियामक कानुन विशेषज्ञ आनन्द बर्मा, ग्लोबल ट्रेड एन्ड टेक्नोलोजी काउन्सिल अफ इन्डियाका प्रतिनिधि गौरव गुप्ता तथा जवाहरलाल नेहरू विश्वविद्यालयकी प्राध्यापक डा. सङ्गीता थपलियालगायतले जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणका विषयमा धारणा राखेका थिए।