काठमाडौं ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणलाई लिएर विभिन्न राजनीतिक चर्चा भइरहेका बेला उनको भ्रमण टोलीका एक सदस्यले भने भ्रमणका क्रममा कुनै राजनीतिक भेटवार्ता नभएको दाबी गरेका छन्।
नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएपछि भण्डारी चीन गएसँगै उनको भ्रमणलाई नेपालको राजनीतिक अवस्था र वामपन्थी एकताको सम्भावनासँग जोडेर विश्लेषण गरिएको थियोकात्तिक ५ देखि ९ गतेसम्म चीनमा रहेकी भण्डारी हपेई प्रान्तको स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी भएर स्वदेश फर्किएकी हुन्। आयोजक चाइना पिपुल्स इन्स्टिच्युट अफ फरेन अफेयर्सको निमन्त्रणामा उनी सम्मेलनमा विशिष्ट अतिथिका रूपमा सहभागी भएकी थिइन्।
भ्रमण टोलीका एक सदस्यका अनुसार कार्यक्रमसँग सम्बन्धित सामूहिक शिष्टाचार भेटबाहेक भण्डारीले व्यक्तिगत वा राजनीतिक उद्देश्यका लागि छुट्टै भेटघाट गरेकी थिइनन्। सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङ यी पनि सहभागी भएकाले सामूहिक भेटवार्ता भएको उनले बताएका छन्।चीनमा आयोजित सम्मेलनमा करिब १२० देशका प्रतिनिधि सहभागी थिए। ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ विषयमा केन्द्रित कार्यक्रममा पूर्वराष्ट्रप्रमुख, सरकारप्रमुख, मन्त्री तथा कूटनीतिक क्षेत्रका विज्ञहरूको सहभागिता थियो।
सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले जलवायु परिवर्तन, खाद्य असुरक्षा, गरिबी, असमानता र भूराजनीतिक तनावजस्ता चुनौती समाधान गर्न अन्तर्राष्ट्रिय संवाद र सहकार्य आवश्यक रहेको बताएकी थिइन्। उनले नेपाल–चीन सम्बन्ध, पारस्परिक सम्मान तथा पञ्चशीलका सिद्धान्तमा आधारित सहकार्यको महत्त्वसमेत उल्लेख गरेकी थिइन्। साथै, एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता दोहोर्याएकी थिइन्।
भण्डारीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू चीन भ्रमणमा नभई सम्मेलनमा सहभागी हुन गएको बताएकी थिइन्। एमालेका एक नेताका अनुसार पनि भण्डारीले आफ्नो भ्रमण कुनै राजनीतिक उद्देश्य वा एजेन्डासँग सम्बन्धित नरहेको बताएकी छन्।एमालेको केन्द्रीय कमिटी बैठकले असोजमा भण्डारीलाई वरिष्ठ नेताका रूपमा मनोनयन गरेको थियो। त्यसअघि नै आयोजकले उनलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएको बताइएको छ। यसअघि उनी २०८२ जेठमा पनि चीन भ्रमणमा गएकी थिइन्।